प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ ।
मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको थियो । तर मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको पाइएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।
देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ । मतदाता नामावलीमा भने जन्ममिति ३१ जेठ २००२ लेखिएको छ ।
जन्ममिति फरक परेको भन्दै देउवाका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । मंगलबार देउवाको तर्फबाट उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु देउवाले लिखित जवाफ बुझाएकी थिइन् ।
त्यसपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मल्लको उजुरी खारेज गर्दै मतदाता परिचयपत्रमा देउवाका जन्ममिति गलत उल्लेख भएको प्रष्टकरण दिएको छ । मुख्य निर्वाचन अधिकृत वाग्लेले अनलाइनखबरसंग भने, ‘नागरिकता अनुसार नै हुनुपर्ने उहाँको जन्ममिति मतदाता परिचय पत्र र मतदाता नामावलीमा टाइप गर्दा गलत भएको रहेछ ।’
उनले अगाडि भने, ‘त्यो सामान्य प्रिन्ट गल्ती भएको हो । त्यसैले उहाँ (कर्ण मल्ल) को दाबी कानूनसम्मत देखिएन । उहाँको उजुरी खारेज गरियो ।’