रोल्पा प्रदेशसभा (२)बाट स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन ‘सिजल’ले गरेको चुनावी प्रतिवद्धताअनुसारको कामलाई सुरु गरेका छन । पद तथा गोपनियताको सपथ नखाँदै पुनले आइतबार नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रमा पुगी केन्द्रीय लाइन विस्तारमा भइरहेको ढिलासुस्तीबारे जानकारी लिँदै एक हप्ताभित्र काम अघि बढाउन निर्देशन दिएका हुन।
आइतबार विद्युत प्राधिकरणको कार्यालय मेबाङ पुगेर पुनले टेण्डर भएको लामो समयसम्म पनि काम हुननसकेका योजनाहरुका विषयमा जानकारी लिनुका साथै तत्काल काम अघि नबढाए ठेक्का तोड्ने प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । ‘ठेक्का लिने तर लामो समयसम्म काम नगर्दा रोल्पालीले धेरै क्षति व्यहोरेका छन्’ पुनले भन्नुभयो, ‘राज्यको रकम यसरी होल्ड गरेर बस्ने अधिकार कसैलाई छैन, एक हप्ताभित्र काम सुचारु भएन भने ठेक्का तोड्ने प्रक्रियामा जानुपर्छ ।’
नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख शम्भुप्रसाद मण्डलले सांसद पुनकै अगाडि विभिन्न क्षेत्रमा ठेक्का लिएर काम नगरेका ठेकेदारहरुलाई टेलिफोन गरी तत्काल काम अघि बढाउन निर्देशन गरेका थिए। ‘मैले पटकपटक ताकेता गर्दै पनि आइरहेको छु’ प्रमुख मण्डलले भने, ‘ठेकेदारको माथिमाथि लिंक छ, बरु म सरुवा हुन तयार छु तर रोल्पालीका लागि आएको बजेट समयमै खर्चिनुपर्छ, त्यसका लागि म चिन्तित छु ।’
केन्द्रीय लाइन विस्तारका लागि गंगादेव, त्रिवेणी, परिवर्तन, रुन्टीगढी लगायतका क्षेत्रका लागि आएको करिब पाँच करोड बढी बजेट ठेकेदारले काम नगर्दा रोकिएको छ । एक हप्ताभित्र काम नभए आफ्नै नेतृत्वमा काठमाडौं गएर ठेकेदार तथा निर्माण कम्पनीको कार्यालय घेराउ गर्ने सांसद पुनले बताए । उनले निर्माण व्यवसायीले अलपत्र पारेका योजनाहरुलाई पुरा गराउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका थिए। सोहीअनुरुप विद्युतको कामको अवस्थाबारे जानकारी लिनुका साथै दवाव सुरु गरिएको छ ।