• एउटै दृष्टि, भिन्न कोण
  • Search

आर्जेन्टिनालाई तेस्रो पटक विश्वकप फुटबलको उपाधि

कतार २०७९ पुष ४ गते सोमवार

निर्धारित तथा अतिरिक्त समयमा पनि तीन-तीन गोलको बराबरी भएपछि पेनाल्टीका आधारमा भएको अन्तिम निर्णयमा फ्रान्सलाई हराउँदै आर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको छ ।आइतवार भएको फाइनल खेलसँगै कतारमा जारी विश्वकप फुटबल पनि सकिएको छ।

पेनाल्टीमा आर्जेन्टिनाले चार गोल गरेको थियो भने फ्रान्सले दुई गोल मात्र गर्न सफल भयो।  चार वर्षअघि रुसमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सलाई आर्जेन्टिनाले उपाधि दोहोर्‍याउनबाट रोकेको हो।

कतार विश्वकपको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको थियो। आर्जेन्टिनाका तर्फबाट खेलको पहिलो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै लियोनेल मेस्सीले प्रथम गोल गरेका थिए।

त्यसपछि डी मारियोले गरेको दोस्रो गोलसँगै आर्जेन्टिनाले दोस्रो हाफसम्म अग्रता लिएको थियो। तर खेलको निर्धारित समय सकिने अवस्था आउनै लागेका बेला फ्रान्सका किलियान एम्बाप्पेले दुई गोल फर्काएपछि खेल बराबरी भएको थियो।

निर्धारित समयमा खेल बराबरी भएपछि थपिएको समयमा मेस्सीले थप एक गोल गरे भने फ्रान्सका लागि पनि एम्बाप्पेले एक गोल फर्काए।

सन् २०१८ मा फ्रान्सले क्रोएशियालाई २ का विरुद्ध ४ गोलले हराउँदै जित हासिल गरेको थियो।

संयोगवश यसपालि आर्जेन्टिनाले अघिल्लो विश्वकपको उपविजेता क्रोएशियालाई सेमिफाइनलमा शून्यविरुद्ध ३ गोलले हराउँदै फाइनल पुगेको थियो।

प्रतिक्रिया दिनुहोस