लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । सम्भवतःभोलिसम्म प्रदेश मन्त्रिपरिषद विस्तार हुनसक्ने उहाँको सचिवालयले जानकारी दिएको छ ।
यसअघि नेकपा (एमाले) बाट चेतनारायण आचार्य र माओवादी केन्द्रका कृष्ण केसीले मन्त्रीको जिम्मेवारी पाएका छन् । नयाँ थपिने मन्त्रीहरुमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा र इन्द्रजित थारु सम्भावित सूचीमा हुनुहुन्छ ।
माओवादीले आर्थिक मामिला, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार मन्त्री पाउने करिब निश्चित भएको छ । बाँकी ७ मन्त्रालय बाँडफाँड गरेर साना दललाई समेत मिलाउने गरी एमालेले तयारी थालेको छ ।
मुख्यमन्त्रीसहित १० मन्त्रालयमा एमालेलाई ४, माओवादीलाई ३ तथा राप्रपा, जनमत र जसपाले एक एक मन्त्रालय लिनेगरी दलहरुले समझदारी बनेको छ । नागरिक उन्मुक्ति पार्टी माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएको छ ।
मुख्यमन्त्री पाएको नेकपा एमालेले माओवादी केन्द्रलाई अर्थ, भौतिक पूर्वाधार र आन्तरिक मामिला मन्त्रालय दिन तयार भएपछि सहमति जुटेको माओवादी केन्द्रले जनाएको छ । माओवादीले कुल ३ मन्त्रालय लिने सहमति भएको छ । माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले अर्थ भौतिक पूर्वाधार र आन्तरिक मामिला पाउनेगरी सहमति भएको बताएका छन् ।
माओवादीबाट दलका नेता जोखबहादुर महरा अर्थमन्त्रालयल लिएर सरकारमा पार्टीको नेतृत्व लिनेछन् तर अन्य एक मन्त्रीमा टुंगो लागेको छैन । यसअघि मन्त्री बनिसकेका इन्द्रजित चौधरी, स्वतन्त्रबाट जितेर माओवादी रोजेका रोल्पाका दिपेन्द्र पुन सिजल तथा दाङ ३ को २ बाट निर्वाचित धनबहादुर मास्की बलियो दावेदार रहेका छन् ।
एमालेले शहरी विकास, सामाजिक विकास, स्वास्थ्य, पाउने मन्त्रालय पाउने भएको छ । शहरी विकासमा चेतनारायण आचार्यले दावी गरेका छन् भने स्वास्थ्य वा सामाजिक विकासमा विष्णु पन्थीको करिब टुंगो लागेको छ ।
अन्य दुई मन्त्रीमा एमालेबाट आकांक्षी धेरै धएकाले मिलाउन सकस भएको हो । बाँकेका दुर्गाप्रसाद चौधरी, रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी प्युठानका तुल्सी शर्मा र बाँकेका रत्ना खत्री प्रमुख दावेदार छन् । भूगोग मिलाउन बाँकेले पाउने संभावना बढी रहेको नेताहरुको भनाइ छ ।
जसपा, राप्रपा र जनमत पार्टीले सरकारमा जाने मन्त्रीको टुंगो लगाइसकेका सम्बन्धित दलका नेताहरुले बताएका छन् ।
जसपाबाट संसदीय दलका नेता बाँकेका भण्डारीलाल यादवले आफू नै सरकारमा जाने पार्टीमा सहमति भएको बताए ।
राप्रपाले कपिलवस्तुका जानकीप्रसाद यादवलाई सरकारमा पठाउने भएको छ । राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयका अनुसार राप्रपाले उद्योग तथा पर्यटन वा सामाजिक विकासमध्ये एउटा मन्त्रालय पाउने छ । जनमत पार्टीबाट रुपन्देही ५ को २ बाट निर्वाचित संसदीय दलका नेता चन्द्रकेश गुप्ता सरकारमा जाने भएका छन् ।
गुप्ताले आफू नै सरकारमा जाने सहमति भइसकेको तर मन्त्रालय टुंगो नलागेको बताए ।

