• एउटै दृष्टि, भिन्न कोण
  • Search

वडाअध्यक्षको घरमा खानतलासी, अबैध हतियार बरामत

रोल्पा २०८० बैशाख ३ गते आइतवार

वडाअध्यक्षको घरबाट अवैध हतियार पेस्तोल प्रहरीले बरामत गरेको छ । रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ४ का ३३ वर्षीय वडाअध्यक्ष कृष्ण वलीको घरबाट इटालीमा निर्मित ७.६५ अटो पेस्तोल र तीन राउण्ड गोली शुक्रबार बरामद गरिएको हो ।

प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार अवैध हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा घरको माथिल्लो तलामा माटोको डरीभित्र रातो बुट्टे रुमालजस्तो कपडाले बेरिएको अवस्थामा पेस्तोल फेला परेको हो । घरमा खान तलासि गर्दा म्याग्जिनसहितको पेस्तोल थान १ र सोही कोठाको खाटमूनी चश्माको खोलभित्र तीन राउण्ड गोली फेला परेको थियो ।

वडाअध्यक्ष कृष्ण वली गाउँपालिका अध्यक्ष हरिबहादुर पुन सवार रहने गाडी तोडफोड गरेको आरोपमा गत बिहीबार नै पक्राउ परिसकेका थिए । गाउँपालिकाको बजेट बाँडफाँटको विषयमा विवाद परेपछि वडाअध्यक्ष वलीले गाउँपालिका अध्यक्ष पुन सवार रा१झ १९१ नम्बरको स्कारपियो सरकारी गाडीमाथि तोडफोड गरेका थिए ।

गाउँकार्यपालिका बैठकमा गाउपालिका अध्यक्ष र केही कार्यपालिका सदस्य सँग वडाअध्यक्ष कृष्ण वलीले लफडा गरेका थिए । गाउँपालिका अध्यक्ष हरिबहादुर पुन र वडाअध्यक्ष कृष्ण वली दुवै नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि हुन ।

आरोपित वडाअध्यक्ष कृष्ण वलीलाई आइतबार जिल्ला प्रशासन कार्यालय रोल्पाले १५ दिनका लागि म्याद थप गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (अभद्र व्यवहार) सम्बन्धी मुद्धामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ, भने पेस्तोल भेटिएपछि हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा जिल्ला अदालतबाट १४ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस