रोल्पाको सहिद मार्ग अन्तर्गत स्याङखोला-घर्तिगाउँबाट हान्निङ हुँदै दार्बोटसम्मको २५ किलोमिटर सडक कालोपत्रे कामको माडी २ को स्याङखोलाबाट शुरु गर्ने गरी शिलान्यास भएको छ ।
रोल्पाको अति व्यस्त एवम् महत्त्वपूर्ण सडक सहिद मार्गको सो सडक खण्ड आज एक औपचारिक कार्यक्रमका बीच माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले उद्घाटन गर्नुभएको । एम.के.-के.एस.के. जे.वि.कन्ट्रसनले सो सडक कालोपत्रेको लागि कुल एक अर्व बाह्र करोडमा ठेक्का आह्वान भएकोमा मुल्य अभिवृद्धि कर बाहेक ७७ करोडमा ठिक्का लिएर काम शुरु गरेको छ ।
उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष जयपुरी घर्तिमगर, सहिद मार्ग सडक आयोजनाका कार्यालय प्रमुख पवन भट्टराई, स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला, पत्रकारलगाएतको उपस्थिति रहेको थियो ।
त्रिवर्षीय योजाना अन्तर्गत काम भैरहेको भएपनि सो सडक खण्डको २५ किलोमिटर सडक जति सक्यो छिटो कालोपत्रे गरिसक्ने लक्ष्य लिएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर चक्र जिएमले जानकारी दिनुभयो ।