रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १४ जना घाइते छन् ।
मंगलबार दिउँसो १ बजेपछि ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब ५० मिटर मुनि खसेर दुर्घटनाग्रस्त भएको हो ।
स्थानीयहरूका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रण बाहिर जाँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा एक बालक भने भेटिएका छैनन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
घटनास्थलमा घाइते र मृत्यु भएकाहरुको उद्धार जारी रहेको स्थानीय अगुवा डम्बरबहादुर पुनले बताए । उनका अनुसार घटनास्थलमा उद्धारका लागि प्रहरीसहित स्थानीय खटिएका छन् । मृत्यु हुनेमा माडी गाउँपालिका वडा नं. ४ का हस्ता डाँगी,गोरख डाँगी माडी २ का प्रकाश बाँठा र परिवर्तन गाउँपालिकाका भक्त बहादुर वि.क रहेका छन ।
घटनाबारे जानकारी पाएपछि सदरमुकामबाट प्रहरी निरीक्षकसहितको प्रहरी टोली खटाइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले बताए । घटनाबारे प्रमुख जिल्ल्ला अधिकारी र प्रहरीलाई साढे १ बजे सूचना प्राप्त भएको थियो ।
उत्तरी रोल्पाको परिवर्तन गाउँपालिकाको बागमाराबाट बिहान दाङ तर्फ जाँदै गरेको बस त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिचीमा दुर्घटनाग्रस्त भएको हो । चालकसहित घाइतेलाई उद्धार गरेर रोल्पाको रेउघास्थित जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।