प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ समाज निर्माणकोलागि रोल्पाबाट सबै दललाई आव्हान गरेकाका छन् । रोल्पाको लिवाङमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त धारणा राखेका हुन् ।
उनले सत्तामा रहेका र अन्य दलका बीचमा समाजवाद निर्माणको आधार तय गर्ने काम सफल भएको दाबी गर्दै ‘जनयुद्धको आधार क्षेत्र र क्रान्तिस्थल रोल्पाबाट म सबैसँग समाजवाद निर्माणका लागि आह्वान गर्छु’, उनले भने, ‘त्यसका लागि रोल्पालीले फेरि एकपटक साथ दिनुहोला । नयाँ संविधान निर्माण गर्यौं, निर्वाचन गर्यौं र अब विकास गर्ने हो ।’
‘भ्रष्टाचारमा लागेकालाई मेरो नेतृत्वको सरकारले कारबाही गर्दै आएको छ, ‘भ्रष्टाचारको मुद्दामा आरोपितलाई जेलमा कोचिएको छ । दोषीलाई छाड्ने नीति छैन ।’, नक्कली भुटानी शरणार्थी बनाउने घृणित कार्यलाई रोक्न सरकार भित्रैदेखि लागेको समेत बताए । यस्तै ललिता निवास काण्ड र सुन काण्ड समेतमा आरोपितलाई बयान लिने र छानबिन गर्ने कार्यलाई अघि बढाइएको छ, प्रधानमन्त्री दाहालले भने, ।
सरकारले सामाजिक सुरक्षा र सामाजिक न्यायका पक्षमा राम्रोसँग काम गर्न थाल्दा अवरोध आएको प्रधानमन्त्री दाहालले गुनासो गरे । सरकारले रेमिट्यान्स भित्र्याउन पहल गरेको उनले बताए। ‘२२ प्रतिशतले रेमिट्यान्स बढेको छ । त्यस्तै राजस्व पनि बढेको छ,’ उनले भने ।
नेपालको अर्थतन्त्र बिस्तारै आफ्नो लयमा जान थालेको र छिटो आर्थिक सम्मेलन आयोजना गर्ने उनले घोषणा गरे । तिहारपछि आर्थिक अवस्थाको समीक्षा गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेको प्रधानमन्त्री दाहालले बताए ।
उनले आफू प्रधानमन्त्री भएपछि भारतसँग पहिलोपटक सीमाबारे संवाद भएको खुलासा गरे । ‘हाम्रो सीमा लिपुलेक, लिम्पियाधुरा लगायतका बारेमा भारतीय प्रधानमन्त्री मोदीसँग मेरो कुरा भएको छ । हामीले हाम्रो हितका लागि चाँदनी चोकमा बसेर छलफल गर्यौं ।’
रोल्पामा आएर विकास संरचना निर्माण र उद्घाटन गर्न पाउँदा खुशी महसुस भएको बताउदै प्रधानमन्त्री दाहालले रोल्पालाई क्रान्ति, शान्ति र विकासको प्रतीक भएको टिप्पणी गरे ।

