• एउटै दृष्टि, भिन्न कोण
  • Search

भ्रष्टाचार मुद्दामा गंगादेवका पूर्व उपाध्यक्ष सहित १३ जनाले पाए सफाइ

रोल्पा २०८० चैत्र १४ गते बुधवार

रोल्पाको गंगादेव गाउँपालिकाका पूर्व उपाध्यक्ष रिता घर्तीसहित १३ जनाले विशेष अदालतबाट सफाइ पाएका छन्। बुधबार विशेष अदालतले उनीहरुलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो।

गंगादेव गाउँपालिका वडा नं. २ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १७ गते तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादव, योजना अधिकृत (सहायक पाँचौ) कृष्ण बहादुर घर्ती, इन्जिनियर नविन डाँगी, सव-इन्जिनियर रोशनी विष्ट, तत्कालीन खानेपानी तथा सरसफाई टेक्निसियन बल बहादुर बस्नेत, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष मन बहादुर डाँगी, सचिव खडक बहादुर डाँगी, कोषाध्यक्ष चन्द्र कुमारी डाँगी, वडाध्यक्ष भुपाल दमाई, वडा सदस्य टिका वि.क., वडा सदस्य गन बहादुर भण्डारी, वडा सचिव कुल बहादुर योगी गरि १३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार हानीनोकसानीको मुद्दा दायर गरेको थियो।

आर्थिक वर्ष २०७६/०७७ मा गंगादेव गाउँपालिका वडा नं. २ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजना निर्माण गर्दा फिल्डमा भएको भन्दा बढी काम गरेको गलत प्रतिवेदन दिई दिन लगाई गलत नापी किताब तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरी ४ लाख ६६ हजार ४ सय ८८ रुपैयाँ ९८ पैसा भ्रष्टाचार गरेको दाबी सहित आयोगले विशेष अदालतमा आरोप पत्र दर्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस