लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकार आइतबार नै चार सदस्यीय मन्त्रिपरिषद विस्तार हुने भएको छ । आजै दिउँसो प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्रीको शपथपछि थप तीन जना मन्त्रीले शपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
नेकपा (एमाले) बाट एक, नेकपा माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी (जसपा) बाट एक गरी तीनजना मन्त्री नियुक्त हुने बताइएको छ । एमालेबाट दलको उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बन्नुहुनेछ ।
पहिलो चरणमा मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद बन्नेछ । बाँकी मन्त्रालयको जिम्मा विश्वासको मत लिएपछि दिनेगरी तयारी भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक इन्द्रजित थारुले जानकारी दिनुभयो ।
केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त हुनभएको थियो ।
बहुमत पुगाउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई समेत सरकारमा सहभागी गराउने तयारी छ। जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउनेगरी दलहरूबिच सहमति भएको थियो । जसपालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयसहित सहरी विकास तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको बताइएको छ।