रुपन्देही र कपिलबस्तु जिल्लालाई ‘पूर्ण खोप दिगोपना सुनिश्चित’ जिल्ला घोषणा गरिएको छ । हिजो आइतबार जिल्ला खोप समन्वय समिति कपिलबस्तु जिल्लाले तौलिहवा र रुपन्देहीले भैरहवामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनमगरले सो घोषणा गरेका हुन् ।
राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी कपिलबस्तु र रुपन्देही जिल्लालाई आर्थिक वर्ष २०८०-८१ मा सबै बालबालिकाहरूलाई १५ महिनाको उमेर भित्रमा पाउनुपर्ने पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा कपिलबस्तु र रुपन्देहीलाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिहरुले जनाएका छन ।
पूर्ण खोप सुनिश्चितताका लागि १६ महिनादेखि ५९ महिनासम्म उमेरको बालबालिकाहरूमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ । सुरुमा ४ वटा रोगविरुद्धको खोपबाट सुरु भएको खोप अहिले नेपालमा १३ वटा रोगविरुद्धको खोप सञ्चालन भइरहेको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनमगरले सुरक्षित मातृत्व क्षेत्रमा उल्लेखिय सुधार गर्न महिला स्वास्थ्य स्वयम सेविकाहरुको महत्व पूर्ण भूमिका रहेको र त्यसरी नै पूर्ण खोप सुनिश्चितता अभियानमा भूमिका रहेको बताए । मन्त्री पुनमगरले पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गर्न कामगर्ने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताए ।
गत वर्ष कपिलबस्तु जिल्ला पूर्णखोप सुनिश्चिता जिल्ला घोषणा हुन नसक्दा लुम्विनी प्रदेश घोषणा हुन सकेको थिएन । यस वर्ष लुम्विनी प्रदेशका सबै जिल्लाहरु पूर्णखोप सुनिश्चित दिगोपना घोषणा भैसकेकोले असार ३१ गते लुम्विनी प्रदेश पूर्ण खोप दिगोपना सुनिश्चित’ भएको घोषणा गरिने लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य सचिव डा बासुदेव जनार्दन उपाध्यायले बताए ।

