• एउटै दृष्टि, भिन्न कोण
  • Search

गुटबन्दी अन्त्य गर्न क्रियाशील सदस्यहरूले प्रत्यक्ष भोट हाल्न पाउनुपर्छ: गगन थापा

सल्यान २०८१ फाल्गुन १० गते शनिवार

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रीय नेतृत्व चयनमा क्रियाशील सदस्यहरूको प्रत्यक्ष मतदानको व्यवस्था गर्नुपर्ने बताएका छन्।

सल्यानमा आयोजित जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले हालको अप्रत्यक्ष निर्वाचन प्रणालीले पार्टीभित्र गुटबन्दीलाई मलजल गरिरहेको उल्लेख गरे। उनका अनुसार, क्रियाशील सदस्यहरूले बुथ प्रतिनिधिमार्फत भोट हाल्ने, सो प्रक्रिया हुँदै महाधिवेशन प्रतिनिधि चयन हुने र अन्ततः केन्द्रीय नेतृत्व चयन हुने प्रणाली नै गुटबन्दीको प्रमुख कारण बनेको छ।

महामन्त्री थापाले प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्न सके गुटबन्दी स्वतः अन्त्य हुने दाबी गरे। “यदि लाखौँ क्रियाशील सदस्यहरूले प्रत्यक्ष रूपमा भोट हालेर केन्द्रीय नेतृत्व चयन गर्ने व्यवस्था गरियो भने पार्टीभित्रको गुटबन्दी त्यही दिनबाट समाप्त हुन्छ,” उनले भने।

उनले पार्टी महाधिवेशनमा उम्मेदवार बन्न कुनै न कुनै समूह वा प्यानल आवश्यक पर्ने र यस प्रक्रियाले गुटबन्दीलाई संस्थागत गरिरहेको बताए। “पार्टीभित्र गुटबन्दी रोगसरह भएको छ। यसलाई अन्त्य गर्न प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जानु अपरिहार्य छ,” उनले स्पष्ट पारे।

महामन्त्री थापाका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीले नयाँ नेतृत्व, नयाँ प्रवृत्ति र स्वस्थ बहसको सुरुवात गर्नेछ। “त्यसरी नेतृत्व चयन गर्दा पार्टीभित्र जो सबैका लागि काम गर्न चाहन्छ, उसले नेतृत्व गर्ने अवसर पाउनेछ,” उनले जोड दिए।

थापाले पार्टी विधान संशोधन गर्दै प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्न बहस आवश्यक रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस