
रोल्पाको गंगादेव गाउँपालिका-२ घोडानेटाका आमाहरू गाउँमा खानेपानी अभाव भएपछि स्थानीय सरकारको दैलोमा पुगेका छन । आमाहरू खानेपानी मर्मत गरिदिन आग्रह गर्दै स्थानीय सरकार प्रमुख हरिबहादुर पुनलाई भेट्न उनको कार्यकक्षमै पुगेका हुन।
२०५६ सालदेखि उपभोग गर्दै आएको पुरानो खानेपानी मर्मत योजनामा पूरा काम नगरी अलपत्र पारिएको छ । उक्त खानेपानीको मुहानको पानी केही व्यक्तिहरूले ब्यक्तिगत रुपमा पाईपलाइन राखेर प्रयोग गर्दै आएको पिडित आमाहरुले बताए ।
एसियाली विकास बैङ्क को आर्थिक सहयोगमा २०५६/०५७ मा निर्माण सम्पन्न स्किम नं.३ को खानेपानी २०७६ सालमा लुम्बिनी प्रदेश सरकारबाट आयोजना मर्मतकोलागि प्राप्त ५० लाख बजेट दुरुपयोग गरी आयोजना अलपत्र पारिएको हो।
खानेपानीमा तत्कालीन लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुनमगरको पहलमा बजेट उपलब्ध बनाएपनि स्थानिय सरकारबाट कार्यान्वयनमा प्राविधिक समस्या, उपभोक्ता समितिको लापरबाहीले आयोजना अस्तब्यस्थ भयो । अहिले अस्तब्यस्त मुहानहरूमा विभिन्न समुदाय संस्था र व्यक्तिहरूले आफूखुसी प्रयोग गर्दै आईरहेका छन ।
पुरानो खानेपानी योजना निर्माण अस्तव्यस्त हुँदा विभिन्न सरोकारवाला निकायहरूद्वारा विवादमा मेलमिलाप गराउन आम भेला र सर्वपक्षीय भेला मार्फत सहमति पत्र र निर्णय गरेपनि समाधान हुन सकेन। विगतको स्थानीय सरकार प्रमुख विरबहादुर खत्रीले आम भेला बनाई मुहान आसपासका पाईपहरू हटाउने र खानेपानी सुचारु गर्ने निर्णय गराए, मुहान नजिकका स्थानिय बासीले नै सो निर्णय कार्यन्वयन नगरेपछि आयोजना गिजोलिदै आएको छ ।
२०७९ को स्थानीय चुनावमा उम्मेद्वारहरूले यहि खानेपानीको समस्या समाधान आफ्नो चुनावी एजेन्डा बनाए, यहि एजेन्डाले हालका स्थानीय सरकार प्रमुख र उपप्रमुखले चुनाव जिते पनि खानेपानीको समस्या समाधान गर्न सकेका छैनन् ।
स्थानिय चुनावको तेस्रो वर्ष आउदासम्म पनि समाधानकालागि कुनै आर्थिक र प्राविधिक पहल गरेको नभएको स्थानियको गुनासो रहेको छ । उनिहरु भन्छन “स्थानिय सरकारमा रहेकाले काम गरेनन् ,खानेपानी कै चुनावी एजेन्डा बनाएका प्रत्यासीहरु पनि खानेपानीको छलफल गर्न गाउँ फर्केका छैनन् ।”
अलपत्र खानेपानी योजना संचालन हुन नसक्दा गंगादेव गाउँपालिका-२ र ३ अन्तर्गतका साविक जिनाबाङ गाविसका ६, ७, ८ र ९ वडाका समुदायहरू प्रभावित भएका छन्। यस विषयमा स्थानीय सरकारद्वारा तत्काल सुनुवाई नभए प्रदेश र संघीय सरकारलाई समेत खानेपानी माग्न जाने तयारी भइरहेको स्थानिय तारादेवी डाँगी/ वलीले बताइन्। ‘स्थानीय सरकारका प्रमुख र उपप्रमुखको मुख्य चुनावी एजेन्डा थियो तर हालसम्म खानेपानी समाधान भएन। त्यसपछि ज्ञापनपत्र बुझाईएको हो,’ तारादेवीले भनिन्।
उनका अनुसार समाधानकालागि गाउँपालिका अध्यक्ष पुनले पहल गर्ने आश्वासन दिएका छन्। भने थप पुनर्निर्माणकालागि संघीय सरकारसँग बजेट माग गर्ने बताएका छन्।
