• एउटै दृष्टि, भिन्न कोण
  • Search

क्याम्पस स्थापनाका लागि हालसम्म ३५ लाख बढी सहयोग प्राप्त, घर्तिगाउँ बजारबाट मात्रै १६ लाख बढी सहयोग रकम उठ्यो

रोल्पा २०८२ बैशाख २० गते शनिवार

रोल्पाको माडी गाउँपालिकामा बहुमुखी क्याम्पस स्थापना गर्न सहयोगको आह्वान गरेपछि हालसम्म करिब ३५ लाख रकम जम्मा भएको क्याम्पस स्थापना गर्न बनेको तदर्थ समितिले जानकारी दिएको छ ।
पश्चिम रोल्पाको केन्द्र समेत रहेको घर्तिगाउँ बजारमा उच्च शिक्षा प्राप्त गर्न क्याम्पस स्थापना गर्ने उद्देश्यले पहिले देखि नै प्रयास गरेपनि नेपालका बिश्वबिद्यालयले नयाँ अनुमति दिन बन्द गरेकोले पुरानै सञ्चालनमा रहेको क्याम्पसलाइ ठाउँसारी र नामसारी गरेर स्थापना गर्न स्थानीयले अहिले सक्रियता देखाएका छन । क्याम्पस स्थापना गर्न २०७७ सालमा नै तत्कालिन नेकपा माओवादी केन्द्रका माडी गाउँ समिति अध्यक्ष एवम् हालका गाउँपालिका सरकार अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षतामा बिभिन्न राजनैतिक दल तथा सरोकारवाला सदस्य रहेको तदर्थ समिति बनेको र स्थापनाको पहल भएपनि केहि समय रोकिएको क्याम्पस स्थापनाको काम अहिले पुनः शुरु भएको तदर्थ समिति सदस्य तथा माडी २ का वडा अध्यक्ष ललित घर्तिमगरले जानकारी दिनुभयो । क्याम्पस स्थापना गर्नको लागि माडी गाउँपालिकाका बिद्यालयमा अध्यापन गर्ने शिक्षकहरु, गाउँपालिकामा कार्यरत कर्मचारी, स्थानीय ब्यापारी, बुद्धिजीवी, सरकारी तथा गैर सरकारी क्षेत्रका कर्मचारी, विभिन्न पेशा व्यवसायीले न्युनतम एक हजारदेखि अधिकतम ५८ हजारसम्म सहयोग गरेको नेकपा एमाले रोल्पा जिल्ला उपाध्यक्ष तथा क्याम्पस स्थापनाका अभियानता बिजय कुमार घर्तिमगरले जानकारी दिनुभयो ।
घर्तिगाउँमा क्याम्पस स्थापना गर्न अहिले माडी गाउँपालिकाका निवर्तमान अध्यक्ष नन्द बहादुर पुनको अध्यक्षतामा वडा अध्यक्षहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु तथा बिभिन्न सरोकारवालाको तदर्थ समितिले सहयोग संकलनको काम गरिरहेको छ । हाल बिश्वबिद्यालयले नयाँ अनुमति बन्द भएको हुँदा पुर्वाञ्चल बिश्वबिद्यालयको सम्बन्धन प्राप्त धरानमा सञ्चालित नेशनल मल्टिपल क्याम्पसलाइ ठाउँसारी र नामसरी गर्ने प्रक्रिया शुरु गरेको तदर्थ समिति संयोजक नन्द बहादुर पुनले जानकारी दिनुभयो । नामसारी र ठाउँसारी गरेर रोल्पा बहुमुखी क्याम्पसको नामबाट क्याम्पस स्थापना गरिने भएको समितिले जानकारी दिएको छ । पुरानो क्याम्पसलाइ प्रक्रिया मिलाएर लिनुपर्ने र नयाँ ठाउँमा व्यवस्थापन गर्नुपर्ने भएकाले सहयोग उठाउनु परेको समितिले बताएको छ ।
रोल्पा जिल्लामा हालसम्म नव नेपाल क्याम्पस जुगार, रोल्पा नमुना क्याम्पस बागमारा, जलजला क्याम्पस लिवाङ र सहिद स्मृति क्याम्पस थवाङ गरी ४ वटा क्याम्पस सञ्चालनमा रहेका छन । रोल्पा बहुमुखी क्याम्पस स्थापना भएपछि रोल्पाका माडी, परिवर्तन, थवाङ, गंगादेव लगाएतका बिद्यार्थीलाइ सहज हुनेमा स्थानीयले आशा लिएका छन ।

प्रतिक्रिया दिनुहोस