• एउटै दृष्टि, भिन्न कोण
  • Search

तुलसीपुर उपमहानगरले जेष्ठ नागरिक घुमाउने क्रममा गाडि दुर्घटना, १३ जना घाइते

दाङ २०८२ बैशाख २७ गते शनिवार

दाङको तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको जेष्ठ नागरिक अवलोकन भ्रमणका क्रममा गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। दुर्घटना शनिबार साँझ साढे ४ बजे तुलसीपुर–१८, हेमन्तपुर नजिकै भएको हो।

तुलसीपुर उपमहानगरपालिकाकी महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठको नेतृत्वमा जेष्ठ नागरिकहरुको टोली प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा बा २ ख ८७९२ नम्बरको मिनिबस र बुटवलबाट तुलसीपुरतर्फ गइरहेको बा ३ ख ७९५७ नम्बरको सवारी ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

दुर्घटनामा तुलसीपुर-१२ का ७१ वर्षीय लेखराज बस्नेत, उनकी पत्नी जयन्ती बस्नेत, तुलसीपुर-४ का ७७ वर्षीय पूर्णबहादुर खड्का, उनकी पत्नी अमृता खड्का र छोरी हरिकला केसी (५२), तुलसीपुर-४ कै ८३ वर्षीय जसिराम खड्का, तुलसीपुर-१० का ६३ वर्षीय टेकेन्द्रराज भट्टराई, तुलसीपुर-११ का ७३ वर्षीय केशव डाँगी घाइते भएका छन्।

त्यस्तै, अर्को गाडीमा सवार तुलसीपुर-७ खर्चुवाका ५१ वर्षीय विष्णु बुढाथोकी, तुलसीपुर-८ की ३९ वर्षीया सबिता शर्मा, तुलसीपुर-४ बनहरीका ७० वर्षीय एमलाल पार्धे, तुलसीपुर-५ का ३२ वर्षीय तुफान केसी, र तुलसीपुर-१९ का २२ वर्षीय नवराज खत्री समेत घाइते भएका हुन्।

सबै घाइतेको उपचार राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको हो। अस्पताल स्रोतका अनुसार लेखराज बस्नेत, जयन्ती बस्नेत र एमलाल पार्धेको उपचार हाल पनि जारी छ भने अन्य घाइतेलाई उपचारपछि घर पठाइएको छ।

दुर्घटनामा संलग्न सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चौकी बिजौरीका प्रमुख सई भरत ओलीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस