राप्ती गाउँपालिका दाङ र बारबर्दिया नगरपालिका बर्दिया शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै उत्कृष्ट गाउँपालिका नगरपालिकाको रूपमा सम्मानित भएको छन। देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था ‘प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल’ (प्यान) ले शिक्षा क्षेत्रमा उच्च योगदानका आधारमा सम्मान प्रदान गरेको हो।
प्यानले शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याएका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकहरूलाई पुरस्कृत गर्न गठित मूल्यांकन समितिको सिफारिसमा राप्ती र बारबर्दियालाइ लुम्बिनी प्रदेशको स्थानिय सरकारकोरूपमा छनोट र पुरस्कृत गरेको हो।
संस्थाले शुक्रबार पोखरामा आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनको अवसरमा आयोजित भव्य समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र प्यानका अध्यक्ष सुदाम प्रसाद गौतमले सम्मानपत्र प्रदान गर्नु भएको थियो।
प्यानले देशका सातै प्रदेशबाट एक–एक उत्कृष्ट गाउँपालिका, नगरपालिका, विद्यालय र प्रधानाध्यापकलाई पुरस्कृत गरेको हो। मूल्यांकनका क्रममा शिक्षा सुधारका लागि गरिएको लगानी, सबैका लागि शिक्षाको पहुँच सुनिश्चितता, दीर्घकालीन योजना, स्थानीय पाठ्यक्रम विकास, प्राविधिक शिक्षा, सुशासन र असल अभ्यासलाई मुख्य मापदण्ड बनाइएको अध्यक्ष गौतमले जानकारी दिनुभयाे।