नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक र जनताको बृहत्तर हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति गरिएको बताएका छन । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति बनाएर जाने विषयमा सहमति गरिएको उल्लेख गरे।

अध्यक्ष दाहालले सदनबाट निजामती र शिक्षालगायतका ऐन छिटो पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्य गरिएको स्पस्ट पारे ।
सत्ता गठबन्धनसँग भएको २ बुँदे सहमति र पार्टी उपाध्यक्ष अग्नि सापकोटासँग कुनै सम्बन्ध नरहेको उनले बताए । ‘यो बिलकुलै गलत र आधारहीन प्रचार हो। अग्नि सापकोटाको यस विषयसँग कुनै सम्बन्ध छैन’, उनले भने ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको प्रतिपक्षमध्ये माओवादी केन्द्रले सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र एमालेसँग २ बुँदे सहमति गरेपछि पार्टीभित्रै असन्तुष्टि छ ।
पार्टीमा देखिएको असन्तुष्टिका विषयमा प्रचण्डले भने, ‘नबुझेर असन्तुष्टि जनाइएको हो, बुझिएपछि सबै खुसी हुन्छन् । निर्णय सही छ भन्ने महसुस गर्छन् ।’उनले देश र जनताको हितमा आवश्यक परे सहमति, विरोध र विद्रोह सबै विकल्प खुला रहेको बताए।
प्रचण्डले जनार्दन शर्मालाई आफूले पार्टी छोड नभनेको बताएका छन् । जनार्दन शर्मालाई पार्टी छोड् भन्नुभएछ नि ! भन्ने प्रश्नमा प्रचण्डले भने, ‘भनेकै छैन, त्यो बेकारको कुरा हो ।’
त्यस अवसरमा उहाँले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति फेरि राजनीतिकमा आउने सन्दर्भमा कानुन निर्माण जरुरी भएको आवश्यकता औँल्याए ।

