• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेव गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि क्षेत्रलाई मुख्य प्राथमिकता

रोल्पा २०८२ असार ९ गते सोमवार

गंगादेव गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै समग्र विकासका बहुआयामिक योजना सार्वजनिक गरेको छ। आइतबार गाउँपालिकाको वडा नं. २ सुखाओडारमा सम्पन्न १९औं गाउँसभामा पालिका अध्यक्ष हरिबहादुर पुनले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन।

अध्यक्ष पुनका अनुसार गाउँपालिकाले कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधिमा आधारित कृषिप्रणाली विकास गर्ने लक्ष्य लिएको छ। कृषक समूह, सहकारी संस्था तथा निजी फार्महरूसँग सहकार्य गर्दै बीउबिजन, सिँचाइ पाइप, कृषि औजार र यान्त्रिक उपकरणहरूको वितरण गर्ने, खेती प्रणालीलाई वातावरणमैत्री बनाउन माटो परीक्षण, प्लान्ट क्लिनिक सेवा र पशुपालन क्षेत्रको सशक्तीकरणका लागि बोयर जातका उन्नत बोका, गाई, भैंसी वितरण तथा निशुल्क पशु उपचार र खोप कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

पूर्वाधार विकासतर्फ पनि गाउँपालिकाले ठूलो प्राथमिकता दिएको छ। मोटर र गोरेटो बाटोको स्तरोन्नति, सिँचाइ पोखरी निर्माण, लिफ्ट सिँचाइ प्रविधिको प्रयोग, र वडा कार्यालय भवन निर्माणजस्ता योजनाहरू नीति तथा कार्यक्रममा समावेश गरिएका छन्। यिनले स्थानीय सेवा प्रवाहसँगै कृषि उत्पादनमा पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न ‘उपाध्यक्ष नारी उद्यमशीलता तालिम’, प्रविधि हस्तान्तरणमार्फत साना उद्यम विस्तार, सफल उद्यमीको सम्मान तथा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सीपयुक्त श्रमिक परिचालन गरिने कार्यक्रम पनि प्रस्तुत गरिएको छ।

अध्यक्ष पुनले नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि संघ, प्रदेश, निजी क्षेत्र, नागरिक समाज, सञ्चार माध्यम र विकास साझेदारहरूसँग सहकार्य आवश्यक रहेको बताउँदै सबै जनसमुदायलाई साझा यात्रामा साथ दिन आह्वान गरे। उनले नीति तथा कार्यक्रमलाई कागजमा मात्र सीमित नराखी समावेशी, आत्मनिर्भर र समृद्ध गंगादेव निर्माणको मार्गचित्र बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन।


प्रतिक्रिया दिनुहोस