गंगादेव गाउँपालिका रोल्पाका युवा नारायणप्रकाश थापा राष्ट्रिय युवा संसदमा प्रतिनिधित्व गर्न सफल भएका छन्। उनी रोल्पा जिल्ला अन्तर्गत संघीय निर्वाचन क्षेत्र नं. १ बाट विजयी भएका हुन्। थापाले प्रतिस्पर्धी रमेश थापालाई पछि पार्दै जित हासिल गरेका हुन्।

युवा सशक्तिकरण, नेतृत्व विकास तथा सामाजिक-राजनीतिक चेतना अभिवृद्धिको उद्देश्यसहित सञ्चालित राष्ट्रिय युवा संसद अभियान अन्तर्गत यही असार १५ गते देशभर १६५ वटै संघीय निर्वाचन क्षेत्रहरूमा एक-एक जना सक्रिय युवा प्रतिनिधि छनोट गरिएको हो। प्रतिनिधि चयनमा सामाजिक प्रभाव, व्यक्तिगत प्रोफाइल र अनलाइन भोटिङलाई प्रमुख आधार बनाइएको थियो। विजयी युवाहरू दुई वर्षका लागि “युवा सांसद” का रूपमा चयन हुनेछन्।
थापा गंगादेव गाउँपालिकाबाट राष्ट्रिय युवा संसदमा प्रतिनिधित्व गर्ने पहिलो युवा हुन्। राष्ट्रिय युवा संसदले युवा वर्गलाई लोकतान्त्रिक अभ्यासमा सहभागी गराउँदै उनीहरूलाई नीति निर्माण, नेतृत्व विकास, र सामाजिक पैरवीमा संलग्न गराउने लक्ष्य लिएको छ।
यस संस्करणमा विजयी भएका १६५ जना युवा सांसदहरू राष्ट्र निर्माणका विविध आयाममा सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

