• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पामा उत्कृष्ट चार पशुपालक कृषक सम्मानित

रोल्पा २०८२ असार १९ गते बिहिवार

रोल्पाका उत्कृष्ट ४ पशुपालक कृषकलाई सम्मानित गरिएको छ । रोल्पास्थित भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बिहीबार लिबाङमा आयोजित कार्यक्रममा पशुपालक कृषकलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

सम्मानित हुने कृषकहरुमा बाख्रा पालक गंगादेव गाउँपालिका-३ जिनाबाङका लोकमान वली, बंगुरपालक त्रिवेणी गाउँपालिका-२ नुवागाउँका मणिराम घर्तीमगर, भैँसीपालक सुनिल स्मृति-३ मिझिङकी लतादेवी विष्ट र गाईपालक रोल्पा नगरपालिका-६ कोटगाउँकी अनकुमारी घर्ती मगर छन् ।


सम्मानितमध्ये वली सर्वोत्कृष्ट कृषक हुन् भने अन्य तीन जना उत्कृष्ट कृषकका रूपमा छानिएका हुन् । कार्यालय प्रमुख डा न्यौपानेले सानो रकमले सम्मान गरे पनि कृषकलाई उत्साहित बनाउन खोजिएको स्पष्ट पारे ।

सम्मानित कृषकमध्ये जिनाबाङका वलीले माउ र पाठापाठी गरेर ३ सय ५० बाख्रा पालेका छन् । उनी जिल्लामा व्यावसायिक रूपमा बढी बाख्रा पाल्ने एक्ला कृषक हुन् ।

त्यस्तै नुवागाउँका घर्तीमगरले जिल्लामै ठूलो बंगुरपालन संचालन गरेका छन् । उनीसँग करिब ५० माउ बंगुर छन् । मिझिङकी लतादेवीले दुर्गममा पनि व्यावसायिक भैंसीपालन गरेकी छन् ।

जिल्लाभरका पशुपालक कृषकमध्ये छानिएका उत्कृष्ट ब्यवसाहिक कृषकलाई सम्मानित गरिएको पशु सेवा विज्ञ केन्द्र प्रमुख डा शंकर न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस