• एउटै दृष्टि, भिन्न कोण
  • Search

क्रान्तिको केन्द्रमा अर्थशास्त्रीको चुनौती, फागुन २१ ले बदल्नेछ रोल्पाको पहिचान

रोल्पा २०८२ माघ १८ गते आइतवार

नेपाली राजनीतिको त्यही आँगन हो रोल्पा, जहाँबाट देश बदल्ने सपना देख्न थालिएको थियो। तर दशकौँ बितिसक्दा पनि यहाँका सपना माडीखोलाको पानीसँगै बगिरहे। अब एउटा गम्भीर प्रश्न हाम्रो सामु उभिएको छ, के हामी सधैँ इतिहासकै कुरा गर्दै बस्ने, कि अब आफ्ना छोराछोरीको भविष्य र समृद्धिको नयाँ अध्याय सुरु गर्ने ?

२०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनले रोल्पालाई यही अवसर दिएको छ। यो केवल मतदानको दिन होइन, रोल्पाको दिशानिर्देश तय गर्ने निर्णायक दिन हो।

यसपटकको प्रतिस्पर्धा केवल पार्टीहरूबीचको मात्र होइन। यो त पुराना नाराहरू र नयाँ योजनाहरू बीचको स्पष्ट छनोट हो।

नेपाली कांग्रेसले रोल्पाको माटोमा हुर्किएका र विश्वका प्रतिष्ठित विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका डा. सुदन कुमार ओलीलाई उम्मेदवार बनाएर विकासबारे नयाँ बहस सुरु गरेको छ।

रोल्पाको राजनीति लामो समयसम्म भावना र स्मृतिमा अडिइरह्यो । तर यसपटक नेपाली कांग्रेसले अर्थशास्त्रमा विद्यावारिधि गरेका उम्मेदवार अघि सारेर ठूलो जोखिम पनि लिएको छ, र ठूलो सम्भावनाको ढोका पनि खोलिदिएको छ।

क्रान्तिको केन्द्र मानिने यो भूमिमा एक अर्थशास्त्रीको प्रवेश सामान्य राजनीतिक निर्णय होइन। यो त रोल्पाको राजनीतिक चरित्रलाई नै योजना, तथ्य र परिणामतर्फ मोड्ने साहसी प्रयास हो।

बेइजिङदेखि रोल्पाका गाउँसम्मको यात्रा

डा. ओलीको परिचय कुनै साधारण राजनीतिज्ञको जस्तो छैन। चीनको बेइजिङस्थित प्रतिष्ठित University of International Business and Economics बाट अर्थशास्त्रमा पीएचडी गरेका उनी अन्तर्राष्ट्रिय आर्थिक मोडेलिङ र वित्तीय नीतिमा दख्खल राख्छन्।

तर उनी किताबमै सीमित विद्वान् भने होइनन्। लुम्बिनी प्रदेश योजना आयोगको सदस्यका रूपमा काम गर्दा उनले रोल्पासहित समग्र प्रदेशका स्रोत–साधनको नक्सांकन र ‘प्रोजेक्ट बैंक’ निर्माणमा महत्वपूर्ण भूमिका खेले। यही अनुभवले उनलाई योजना बनाउने मात्र होइन, त्यसलाई कार्यान्वयन गर्न सक्ने व्यावहारिक व्यक्तिका रूपमा चिनाएको छ।

मन्त्रालयस्तरमा नीति सल्लाहकार भएर काम गरेको अनुभवले राज्यका नीति र बजेट कसरी भुइँतहसम्म पुर्‍याउने भन्ने कुरा उनी राम्रोसँग बुझ्छन्। यही कारण, बेइजिङको कक्षाबाट सिकेको ज्ञान आज रोल्पाका गाउँ–बस्तीमा लागू गर्न सक्ने आत्मविश्वास उनीसँग छ।

रेमिट्यान्सदेखि उत्पादनसम्मको मार्गचित्र

रोल्पाको ठूलो हिस्सा आज पनि रोजगारीको खोजीमा खाडी र मलेसिया पुगेको छ। त्यहाँ पसिना बगाएर आएको रेमिट्यान्सले घरको चुलो त बालेको छ, तर गाउँ आफैँ उत्पादन गर्ने ठाउँ बन्न सकेको छैन। उनको चुनावी एजेन्डा खोक्रा आश्वासन होइन, रोल्पाको अर्थतन्त्र बदल्ने स्पष्ट योजना हो। उनी भन्छन्- अहिले उपभोगमै सकिँदै गएको रेमिट्यान्सलाई अब कृषि प्रशोधन, जडीबुटी उद्योग र पर्यटनतर्फ लगिनुपर्छ।

रोल्पामा पाइने जडीबुटी र कच्चा पदार्थलाई बाहिर पठाउने होइन, यहीँ प्रशोधन गरेर मूल्य बढाउन सकियो भने मात्र रोजगारी सिर्जना हुन्छ। त्यसो गर्न सके रोल्पाका युवाले विदेश होइन, आफ्नै माटोमा भविष्य देख्न सक्छन् भन्ने उनको विश्वास छ।

हाम्रा धेरै नेताले विकास भनेको सडक, भवन र भ्यु–टावर मात्रै ठान्ने गरेका छन्। तर डा. ओलीको दृष्टिकोण फरक छ। उनी विकासलाई ‘सफ्ट डेभलपमेन्ट’ सँग जोडेर हेर्छन्। उनी भन्छन् “इन्टरनेट पुग्नु मात्रै विकास होइन, त्यसलाई प्रयोग गरेर आम्दानी गर्न सक्ने सीप भएका मानिस तयार हुनु नै वास्तविक विकास हो।

रोल्पाजस्तो अप्ठ्यारो भूगोल भएको जिल्लामा डिजिटल साक्षरता, सीपमूलक तालिम र वित्तीय शिक्षाले ठूलो परिवर्तन ल्याउन सक्छ। यसले सेवा प्रवाहलाई सहज बनाउँछ र युवालाई यहीँ रोजगारीका अवसर सिर्जना गर्न मद्दत गर्छ।

इतिहास र भविष्यको टकराव

यो निर्वाचन रोल्पाका लागि एउटा कडा परीक्षा जस्तै हो। एकातिर माओवादी आन्दोलनको अनुभव बोकेका पुराना नेता छन्, अर्कोतिर विश्वस्तरीय ज्ञान र योजना लिएर आएका डा. ओली। यो प्रतिस्पर्धा व्यक्ति व्यक्ति बीचको मात्र होइन। यो भावनामा आधारित राजनीति र प्रमाण तथा योजनामा आधारित राजनीति बीचको टकराव हो। यो क्रान्तिको विरासत र समृद्धिको सम्भावना बीचको छनोट हो। डा. सुदन कुमार ओलीको उम्मेदवारीले रोल्पाको राजनीतिलाई नयाँ मोडमा पुर्याएको छ। नतिजा जे आए पनि, उनले उठाएको नीति र विकाससम्बन्धी बहस अब रोल्पाका चियापसलदेखि चौतारीसम्म फैलिसकेको छ।

अब प्रश्न एउटै मात्र बाँकी छ, के रोल्पा सधैँ पुरानै पहिचानमा अड्किरहने, कि प्रविधि, नीति र आर्थिक उन्नतिका लागि चिनिने जिल्लाका रूपमा अघि बढ्ने? दशकौँदेखि रोल्पाली जनताले ठूला–ठूला भाषण सुन्दै आए। हरेक चुनावमा सपना बाँडिए, तर जितेपछि गाउँ नफर्किने, जनताको समस्या नसुन्ने र फेरि अर्को चुनावमा उही पुराना झुटा आश्वासन बोकेर आउने प्रवृत्ति दोहोरिरह्यो। यस्तो राजनीतिले रोल्पालाई के दियो? न रोजगारी, न उत्पादन, न भविष्यप्रति भरोसा।

अब जनताले गम्भीर भएर सोच्ने बेला आएको छ-पटक–पटक धोका दिनेहरूलाई फेरि मत किन दिने? २०८२ फागुन २१ को निर्वाचन भावनामा होइन, विवेकमा आधारित निर्णय गर्ने अवसर हो। यसपटक रोल्पाले नारा होइन, योजना खोजिरहेको छ। झुटको खेती होइन, तथ्य र ज्ञानमा आधारित नेतृत्व खोजिरहेको छ। अर्थशास्त्री डा. सुदन कुमार ओलीलाई मत दिनु भनेको कुनै व्यक्ति मात्र जिताउनु होइन। यो त विकास योजना रोज्नु हो, ज्ञान र नीतिलाई प्राथमिकता दिनु हो, र रोल्पालाई आत्मनिर्भर अर्थतन्त्रतर्फ लैजाने बाटो रोज्नु हो।

यदि रोल्पाली जनताले अब पनि पुरानै गल्ती दोहोर्‍याए, इतिहास फेरि त्यही ठाउँमै अड्किनेछ। तर यसपटक सोचेर, बुझेर र जिम्मेवारीपूर्वक डा. ओलीलाई विजयी बनाए भने, रोल्पा पनि परिवर्तन चाहन्छ भन्ने स्पष्ट सन्देश देशभर जानेछ।

अब निर्णय जनताकै हातमा छ, झुट र बेवास्ताको राजनीतिलाई निरन्तरता दिने, कि योजना, ज्ञान र विकासको बाटो रोज्ने ?

प्रतिक्रिया दिनुहोस