• एउटै दृष्टि, भिन्न कोण
  • Search

संकटमा कांग्रेस, केन्द्रमा गगन: सडकको ‘विद्रोही’ देखि नेतृत्वको ‘विकल्प’ सम्म

दाङ २०८२ पुष २५ गते शुक्रवार

पुसको जाडो छिप्पिँदै गर्दा नेपाली राजनीति भने तातिएको छ। सानेपादेखि सिंहदरबारसम्म एउटा प्रश्न जबर्जस्त रूपमा उठिरहेको छ– के नेपाली कांग्रेसले आफ्नो परम्परागत विरासत जोगाउन सक्छ? २०८२ भदौको अन्त्यतिर उर्लिएको ‘जेन जी’ (Gen-Z) विद्रोहले पुराना राजनीतिक दलहरूको जग हलाइदिएको छ। यही भग्नावशेष र नयाँ आशाको दोसाँधमा कांग्रेसका महामन्त्री गगन कुमार थापा आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन र निर्णायक लडाइँ लडिरहेका छन्।

कुनै बेला रत्नपार्कको सडकमा “राजतन्त्र कि लोकतन्त्र?” भन्दै घाँटी सुक्ने गरी चिच्याउने ‘विद्रोही गगन’ आज आफैँ नेतृत्वको कुर्सीमा छन्। तर, आजको चुनौती हिजोको भन्दा पेचिलो छ। एकातर्फ आफ्नै पार्टीको संस्थापन पक्षसँगको पौंठेजोरी, अर्कोतर्फ सडकमा उर्लिएको नयाँ पुस्ताको आक्रोश।

के गगन थापाले कांग्रेसलाई यो भुमरीबाट पार लगाउलान्? वा उनी आफैँ इतिहासको यो निर्मम मोडमा चुक्नेछन्?

त्रि-चन्द्रको बार्दलीदेखि सिंहदरबारको ‘डेलिभरी’ सम्म

वि.सं. २०३३ असार ३१ गते काठमाडौँमा जन्मिएका गगन थापा त्रि–चन्द्र कलेजबाट राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन्। विज्ञान पढ्दै गर्दा उनी विद्यार्थी राजनीतिमा होमिए र त्यो होमाइ केवल पदका लागि थिएन, एजेन्डाका लागि थियो। वि.सं. २०५५–२०५७ मा स्ववियु सभापति बनेका थापाले शिक्षा सुधार, शैक्षिक स्वायत्तता र विद्यार्थी अधिकारलाई सडक र सदन दुवैमा उठाए। यहीँबाट उनको बोल्न सक्ने मात्र होइन, बहस गर्न सक्ने नेताको छवि बन्यो । तर गगन थापाको वास्तविक उदय तब भयो, जब २०५९/६० सालताका कांग्रेसको मूल नेतृत्व ‘संवैधानिक राजतन्त्र’ र ‘बेबी किङ’ को बहसमा अल्झिरहँदा गगनले सडकबाटै खुलेआम ‘गणतन्त्र’ को विगुल फुके।

त्यो बेला उनलाई आफ्नै पार्टीले कारबाहीको डन्डा देखाएको थियो, गिरिजाप्रसाद कोइरालाले रोक्न खोजेका थिए। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध सडकमा उत्रिँदा उनी पटक–पटक जेल परे। तर थापा पछि हटेनन्। बरु, “राजतन्त्र कि लोकतन्त्र?” भन्ने बहसलाई जनआन्दोलन–२ को मूल न्यारेटिभ बनाए। तर, उनले सडकको जनमत यस्तो बनाए कि अन्ततः पार्टी नै गणतन्त्रको एजेन्डामा आउन बाध्य भयो।

तर, गगन ‘भाषण मात्र गर्ने नेता’ हुन् भन्ने आरोपलाई उनले २०७३ सालमा गलत साबित गरिदिए। प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री हुँदा ९ महिनामा उनले जे गरे, त्यसले उनलाई ‘काम गर्न सक्ने’ नेताको रूपमा स्थापित गर्‍यो।

अहिले विपन्न नागरिकको सहारा बनेको ‘स्वास्थ्य बिमा कार्यक्रम’ उनकै दृढ इच्छाशक्तिको उपज हो। निजी क्षेत्रको दबाब चिर्दै सरकारी अस्पतालमा फार्मेसी अनिवार्य गराउने र महँगा औषधिमा ‘जी-टु-जी’ (G2G) खरिद प्रक्रिया अघि बढाएर बिचौलियाको जालो तोड्ने आँट उनले त्यतिबेलै देखाएका थिए।

त्यति मात्र होइन, मिर्गौला पीडितका लागि डायलासिस सेवा पूर्ण निःशुल्क बनाएर उनले हजारौं परिवारलाई राहत दिए भने नेपालमै कलेजो प्रत्यारोपण सेवा सुरु गराएर उपचारका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गरे। सुर्तीजन्य पदार्थमा ९० प्रतिशत भागमा चेतावनीमूलक चित्र अनिवार्य गराउने उनको कदमले जनस्वास्थ्यप्रतिको उनको उच्च संवेदनशीलता पुष्टि गरेको थियो।”

‘बाख्रा काण्ड’ को भारी र स्पष्टीकरण

लोकप्रियताको चुलीमा रहँदा पनि गगन थापा विवादबाट मुक्त भने छैनन्। विपक्षीहरूले उनीमाथि लगाउने ‘बाख्रा पालन’ र ‘सहकारी’ जस्ता आरोपहरू बेला-बेला सडक र सदनमा उठ्ने गर्छन्। खासगरी ‘सुनखानी एकीकृत कृषि केन्द्र’ मा अनुदान हिनामिना गरेको भन्ने ‘बाख्रा काण्ड’ ले उनलाई लामो समयदेखि लखेटिरहेको छ। यद्यपि, थापाले यसलाई सधैँ अस्वीकार गर्दै आएका छन्।

“मैले एक पैसा पनि भ्रष्टाचार गरेको प्रमाण भेटियो भने मेरो सम्पत्ति जफत गरियोस् र मलाई जेल हालियोस्,” भन्दै उनले संसदबाटै दिएको चुनौती अझै अभिलेखमा सुरक्षित छ। तत्कालीन गृहमन्त्री रवि लामिछानेले फाइल खोल्ने चेतावनी दिए पनि ठोस प्रमाणसहित मुद्दा दायर नहुनुले यो विषय राजनीतिक खपतका लागि मात्र उठाइने गरेको देखिन्छ। उनले पटक पटक सरकार बन्दा आफु बारे लागेको आरोपको छानबिन गरिदिन अनुरोध गर्दा पनि आरोपबाट मुक्त हुन सकेका छैनन । तर, सार्वजनिक धारणामा लागेको यो दाग मेटाउन उनले अझै धेरै पसिनागाउनुपर्ने देखिन्छ।

२०८२ को ‘महायुद्ध’: विशेष महाधिवेशनको रस्साकस्सी

अहिले पुस २०८२ को परिस्थिति भने नितान्त फरक छ। नियमित महाधिवेशन समयमै नभएपछि नेतृत्वको अकर्मण्यताले पार्टीलाई क्षति पुर्‍याएको निष्कर्ष निकाल्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन को अस्त्र फ्याँकेका छन।

पार्टी विधानको धारा ४३ टेकेर उनीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित नेतृत्वलाई दबाब मात्र दिएका छैनन्, यहि पुस २७ र २८ मा काठमाडौँमा विशेष महाधिवेशन गर्ने एकतर्फी घोषणा नै गरिसकेका छन्।संस्थापन पक्षले यसलाई ‘अवैधानिक’ भन्दै खारेज गरेको छ। तर, गगन थापा पछि हट्ने मुडमा छैनन्। उनले यसलाई ‘पार्टी बचाउने अन्तिम लडाइँ’ को संज्ञा दिएका छन्।

अबको बाटो: प्रधानमन्त्री कि बहिष्करण?

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा करिब दुई-तिहाइ मत ल्याएर महामन्त्री जितेका थापाका लागि यो कदम ‘वार कि पार’ को अवस्था हो।

यदि विशेष महाधिवेशन सफल भयो र नेतृत्व परिवर्तन भयो भने, गगन थापा नेपालको भावी प्रधानमन्त्रीको सबैभन्दा बलियो दाबेदार बन्नेछन्। उनीसँग ‘प्रोजेक्ट गभर्नमेन्ट’ को खाका छ, युवाहरूको साथ छ र काम गरेको अनुभव छ। तर, यदि यो विद्रोह असफल भयो भने? संस्थापन पक्षको पेलाइमा उनी पार्टीभित्रै किनारा लाग्ने वा पार्टी नै विभाजन हुने खतरा पनि उत्तिकै छ।

जे होस्, राजनीतिमा सधैँ ‘कम्फर्ट जोन’ भन्दा बाहिर रमाउने गगन थापाले फेरि एकपटक ठुलो बाजी थापेका छन्। यो बाजीले कांग्रेसको भविष्य मात्र होइन, नेपालको संसदीय राजनीतिको दिशा पनि तय गर्नेछ।

प्रतिक्रिया दिनुहोस