लुम्बिनी प्रदेश सरकारले पाल्पामा हरेक वर्ष हुने ऐतिहासिक भगवती जात्राको अवसरमा भदौ १ गते आइतबार(आज) सार्वजनिक बिदा दिएको छ।
यो जात्रा नेपाल–अङ्ग्रेज युद्धमा प्राप्त विजयको सम्झनामा सुरु गरिएको हो। इतिहासअनुसार, वि.सं. १८७७ मा पाल्पाका तत्कालीन कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्ध विजयको प्रतीकस्वरूप भगवतीलाई तीन तले मन्दिर बनाएर सिन्दूर जात्रा गर्ने भाकल गरेका थिए। त्यसै भाकलअनुरूप भगवती जात्रा निरन्तर चल्दै आएको छ।
स्थानीय बासिन्दा, भक्तजन र श्रद्धालुहरूको व्यापक सहभागितामा हुने रथयात्राले भगवतीको धार्मिक महिमा मात्र होइन, धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिन्छ। यही ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो।


