• एउटै दृष्टि, भिन्न कोण
  • Search

लगातार ६ जित निकाल्दै  लुम्बिनी बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन

काठमाडौं २०८२ मङ्सिर २७ गते शनिवार

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स सिजन टु को विजेता बनेको हो ।

कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो । सुदूरपश्चिम एनपीएलमा पहिलो पटक एक सय रन कटाउन असफल रह्यो । एनपीएल इतिहासमा पहिला ब्याटिङ गरेको टोलीले बनाएको यो सबैभन्दा कम स्कोर हो । दिनेश अधिकारीले पहिलो ओभरमै चार छक्का प्रहार गरेपछि लुम्बिनीले एकतर्फी फाइनलमा नौ ओभरमै लक्ष्य पूरा ग¥यो । लुम्बिनी पहिलो पटक विजेता बनेको हो । सुदूरपश्चिम लगातार दोस्रो वर्ष पनि फाइनलमा पराजित भएको हो । गत वर्ष पनि टोली फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित हुँदा उपाधि जित्न चुकेको थियो ।

लुम्बिनीले लगातार खेल छ जित्दै उपाधि जितेको हो । यसका साथै लुम्बिनीले सुदूरपश्चिमको लगातार ६ खेल जितेको कीर्तिमान बराबरी गरेको छ । एनपीएल सिजन–२ को शुरुआत सुदूरपश्चिमले लगातार छ खेल जितेर गरेको थियो । तर सातौं खेलमा टोली विराटनगर किंग्ससँग पराजित भएको थियो । त्यही विराटनगरलाई क्वालिफायर–१ मा पराजित गरी सुदूरपश्चिम फाइनल पुगेको थियो । लुम्बिनीले लिग चरणको अन्तिम तीन खेल जितेर प्लेअफमा स्थान बनाएको थियो । त्यसपछि टोलीले इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई क्वालिफायर–२ मा विराटनगरलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई सात विकेटले पराजित गरेको थियो । गत वर्ष पनि सुदूरपश्चिमले लुम्बिनीमाथि ४५ रनको सहज निकालेको थियो । गत वर्ष लुम्बिनी सात खेलमा छ पराजय भोगी पुछारमा रहेको थियो । दिनेशले पहिलो ओभरमै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई चार छक्का प्रहार गरेपछि लुम्बिनीले २७ रन जोडेको थियो । दिनेश र डीआरसी शटले चार ओभरमै ५८ रन जोडेर लुम्बिनीलाई तुफानी शुरुआत दिलाएका थिए । शट १३ बल खेली १४ रनमा आउट भए । तीन चौका प्रहार गरेका उनलाई हेमन्त धामीले आउट गरे । हेमन्तले सोही ओभरमा दिनेशलाई पनि आउट गरे । दिनेशले १३ बलमै ४२ रन बनाए । उनले पाँच छक्का र एक चौका प्रहार गरे ।

रोहित १२ बलमा १६ रन बनाएर आउट भए । उनले दुई चौका र एक छक्का प्रहार गरेका थिए । निरोशान डिकवेला ११ रन बनाई अविजित रहे । सन्दीप जोरा स्कोर बराबर भएको समयमा शून्यमा आउट भएपछि दिलीप नाथले विजयी रन प्रहार गरे । लुम्बिनीले ट्रफीसँगै एक करोड १० लाख पुरस्कार जितेको छ भने उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको विराटनगर किङ्ग्सले २५ हजार चौथो हुने काठमाडाौ गोर्खाजले १५ लाख पुरस्कार जितेका छन् ।

कसले के पुरस्कार जिते ?

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी पनि उपाधि विजेता लुम्बिनी लायन्सका क्याप्टेन रोहित पौडेल घोषित भएका छन् । रोहितले ओमोडा कार प्राप्त गरेका छन् । रोहितले २७६ रन बनाउनुका साथै १० विकेट पनि लिए ।

यस्तै रेड बुल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भएका छन् । उनले १७ विकेट लिएका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भएका छन् । १५ विकेट लिएका उनले पाँच लाख रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने घोषित भए । उनले पनि पल्सर बाइक प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भएका छन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् । लुम्बिनीका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् ।

प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनी लायन्सका शेर मल्ल घोषित भएका छन् । उनले पल्सर बाइक प्राप्त गरेका छन् । फाइनलको प्लेयर अफ द म्याच रुबेन ट्रम्पलमन घोषित भएका छन् ।

प्रतिक्रिया दिनुहोस