काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले प्रस्तावित मिडिया काउन्सिलको प्रावधानप्रति ध्यानाकर्षण भएको जनाएका छन । विज्ञप्ति जारी गर्दै नेकपा सचिवालय सदस्यसमेत रहेका गौतमले विवादास्पद प्रावधान फिर्ता गर्नसमेत सरकारसँग आग्रह गरेका छन ।
नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित भई राष्ट्रियसभा सचिवालयमा दर्तासमेत गराइएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका कतिपय विवादास्पद प्रावधानप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, हाल राष्ट्रिय सभा सचिवायलयमा रहेको उक्त विधेयकका विवादास्पद प्रावधानहरु सञ्चार क्षेत्रका जिम्मेवार एवं सरोकारवालासंग छलफल गरी टुंगो लगाउन र अहिलेकै अवस्थामा अघि नबढाउन म नेपाल सरकार, सम्बन्धित सरकारी निकायलगायत सम्बन्धित सबैमा आग्रह गर्दछु ।
विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता भएको उल्लेख गर्दै समाचार लेखेकै आधारमा १०–१० लाख जरीवाना उचित नभएको पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमको जिकिर रहेको छ ।


