• एउटै दृष्टि, भिन्न कोण
  • Search

आज देखि सुरु हुँदै नेकपा एमालेको ११ औँ महाधिवेशन

भक्तपुर २०८२ मङ्सिर २७ गते शनिवार

नेकपा (एमाले)ले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन आज बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् । भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी चौरमा महाधिवेशन हुँदैछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशन उद्घाटनका सबै तयारी पूरा भएको जानकारी दिए । कार्यक्रममा महाधिवेशन जनपरिचालनका सञ्चालक तथा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले देशभरबाट करिब तीन लाख नेता तथा कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने अपेक्षा गरिएको बताए । उनले नेपालको सांस्कृतिक विविधता झल्काउन २ सय भन्दा बढी जातजातिको कला–संस्कृति प्रस्तुत गर्ने झाँकी प्रदर्शन गरिने जानकारी दिए ।

महाधिवेशन उद्घाटनमा मञ्चमा निर्माण गरिएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटद्वारा पाला बालेर उद्घाटन गर्ने व्यवस्था गरिएको श्रेष्ठले बताए । महाधिवेशन ११ औँ पटक हुन लागेकाले ११ वटा पार्टी झण्डा राखिने, तीमध्ये १० वटा झण्डा शुरुमा नै फहराइने र एउटा झण्डा रिमोटबाट फहराइने तयारी गरिएको जानकारी दिइएको छ ।

उद्घाटन सत्रमा सहभागी हुन विभिन्न जिल्ला र प्रदेशबाट आउने सवारी साधनका लागि यातायात व्यवस्थापन पनि सार्वजनिक गरिएको छ। कोटेश्वरबाट गट्ठाघरसम्म सवारी आउन सकिने र त्यहाँ रहेको नागरिक उड्डयन प्राधिकरणको खुला चौरमा पार्किङको व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस