• एउटै दृष्टि, भिन्न कोण
  • Search

अंग्रेजी कि रङरेजी

२०७५ चैत्र २० गते बुधवार

हाम्रा मन्त्री र नेतालाई अंग्रेजी मोह अचाक्ली बढ्या छ । सार्वजनिक कार्यक्रममा कोही विदेशी त देख्नै नहुने अंग्रेजी फलाक्न थाल्छन् । अंग्रेजीको लय, वाक्य संरचना मिलोस या नमिलोस हाडीमा भुट्न हाल्या मकै जस्तो पटट पड्की हाल्छन् भन्या । लाग्छ कि नेता र मन्त्री हुँदैमा अंग्रेजी स्वतःस्फूत रुपमा भगवानले तथास्तु भन्या झैं शैलीमा प्राप्त भइहाल्छ ।

हालैको लगानी सम्मेलनमा हाम्रा मन्त्रीले बोल्या अंग्रेजी बुझ्न धेरै विदेशी पाहुनालाई अईअई पा¥यो । अंग्रेजी बुझाउन दोभासेलाई पनि दोभासे चाहिएपछि अंग्रेजी कुन स्तरको थियो होला त्यो पाठकवृन्दले सहजै अन्दाज गर्न सक्ने कुरो भो । अंग्रेजी मोहले लगानी आउने होइन, लगानी झनै भड्किने हो कि भन्ने चर्चा हिजो–आज खुव चल्न थाल्या छ ।

‘यु मस्ट नट गो इतर एन्ड उदर’–उद्योगमन्त्री यादवको यस्तो अंग्रेजी वाक्यले अंग्रेजीमा आफूलाई निकै अब्बल मान्नेहरले पनि निकै कमजोर महसुस गरेको धरहराबाट प्रष्टै देखिन्थ्यो । विदेशीहरु माझ उर्जामन्त्री पुन र सञ्चारमन्त्री बास्कोटाको कोट मात्रै टलक्क थियो, अंग्रेजी यादव लाइनकै थियो ।

आफूलाई खाँटी कम्युनिष्ट भन्ने मन्त्री महोदयले तर छिमेकी कम्युनिष्ट देश चीनलाई त राम्रैसँग चिन्या होलान् । त्यहाँका राष्ट्रपति सीले आफ्नै भाषामा भाषण गर्छन् त्यै पनि उनको कद घट्या छैन भन्ने कुरो चाहिँ कम्रेडहरले कहिले बुझ्ने हुन् कुन्नी ।

प्रतिक्रिया दिनुहोस