
प्रिय कुलमान,
तिमीले दिएको प्रकाश,
तिम्रो नेतृत्वले बलेको उज्यालो
आज फेरि निभाउन खोज्दैछन्,
कसले बिर्सन्छ त्यो समय?
१८ घण्टाको कहालिलाग्दो लोडसेडिङ !
कसले भुल्छ?
तिम्रो श्रमले भरेको उर्जा !
तर आज,
त्यही प्रकाशलाई अन्धकारले घेर्दैछ!
भ्रष्टहरू थर्कमान भए,
किनकि तिमी सत्यका रक्षक हौ।
तिम्रो उज्यालो ले,
जलायो तिनको कालो कुचेष्टा!
र, अब,तिमीलाई हटाउन,
भ्रष्टहरुले हालिमुहाली गर्न,
अनेक काइदा खोज्दैछन्, अन्धकारका ब्यापारीहरू
तिम्रो दिप निभाउन खोज्दैछन्!
लामो रातको अन्धकारबाट
जसले उज्यालो फिजायो,
त्यही उज्यालोलाई छेक्ने दुष्प्रयास,
फेरि सुरु भएको छ।
तरपनि
हामी जनताका आँखा खुला छन्,
यो घात हामी सहनेवाला छैनौ।
तिम्रो साथमा हामी छौं।
तिमी हाम्रो विश्वास हौ,बल्दै गरेको दियो हौ।
यो अन्धकारको षड्यन्त्र, हामिले चिर्नेछौं।
यि भ्रष्टहरुको जाल, हामिले तोड्नेछौं।
प्रिय कुलमान तिमी अघि बढ,
हामि तिम्रो पथयात्री हौं।
भ्रष्टहरूको निद हराम गर्ने, सत्य र उज्यालोको युद्धमा,
हामि तिम्रा सिपाही हौं।
यो आवाज स्तब्ध हुने छैन,
यो आवाज दब्ने छैन
यो लडाइँ थाक्ने छैन।
यी भ्रष्टका सिंहासन,तिम्रो तेजले जल्यो,
तिम्रो इमानदारीको प्रकाशमा
तिनीहरूको पेट रित्तियो
कमाई खाने जाल चुडियो।
उध्योगले दिने चन्दा रोकियो
जेनेरेटर बाट खाने कमिसन सकियो
तसर्थ,
उनीहरू आतुर छन्
तिम्रो हात बाँध्न,
तिम्रो गला घोट्न।
हे कुलमान,
तिमी उज्यालोको रक्षक!
यो देशको लाखौं मुटुहरू
आज पनि तिम्रो पक्षमा धड्किरहेका छन्।
तिमीलाई हटाउन खोज्ने
यी भ्रष्टहरूको पाइला
जनताको क्रोधले रेटिनेछन्।
उज्यालो निभ्दैन,
सत्य झुक्दैन,
तिम्रो संघर्ष अझै बाकि छ।
देशको भविष्य अझै तिमीले लेख्नुछ।
आउन देऊ तिनीहरूको प्रहार,
तर हाम्रो आवाज तिम्रो साथमा छ,
उज्यालोका लागि
केवल उज्यालोका लागि