• एउटै दृष्टि, भिन्न कोण
  • Search

कस्तो रहला मोदीको दोस्रो कार्यकालमा ओलीसँगको सम्बन्ध ?

२०७६ जेष्ठ ९ गते बिहिवार
  • सुशील पन्त

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा २४ चैत २०७४ मा हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, ‘सबका साथ, सबका विकास’ भन्ने आफ्नो नारा र ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने ओलीको नारा एकअर्काको परिपूरक छ ।

प्रधानमन्त्रीको भ्रमणलगत्तै मोदीले २८ वैशाख २०७५ मा गरेको नेपाल भ्रमणको क्रममा जनकपुरमा दुवै देशका प्रधानमन्त्री एउटै पोशाकमा देखिए । जसलाई ‘पोशाक डिप्लोमेसी’ भनियो । त्यहाँ पनि मोदी र ओलीले एकअर्काको प्रशंसा गरे ।

भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीका अरु पनि कतिपय विषय मिल्दाजुल्दा छन् । दुवै नेता ‘पपुलारिजम’ अर्थात् लोकरञ्जनवादको नाराले उदाएका हुन् । सत्ता र शक्तिमा आउनको लागि मोदी र ओली दुवैले राष्ट्रवादको नारालाई भजाए ।

भारतमा सरकारले कुनै महत्त्वपूर्ण कार्यक्रम घोषणा गर्दा मोदीको तस्वीर अंकित बोर्ड सडकका खम्बामा झुण्डाउने गरिएको छ । केही महिना पहिले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्दा प्रधानमन्त्री ओलीको तस्वीर अंकित बोर्ड काठमाडौंका सडकमा झुण्डाइयो । आलोचकहरूले यसलाई मोदीको भद्दा नक्कलको संज्ञा दिए ।

संयोग भनौ ओली र मोदी दुवैको दोस्रो कार्यकाल एउटै कालखण्डमा गुज्रिँदैछ । ओलीले दोस्रो कार्यकालको पहिलो वर्ष पूरा गरेका छन् । आन्तरिक राजनीतिमा उलटफेर नआए ओलीले अरु केही वर्ष मोदीसँग सहकार्य गर्न पाउनेछन् ।

प्रचण्डसँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको कुरा स्वयं नेकपाका नेताहरूले बताउने गरेका छन् भने भारत भ्रमणको क्रममा दिएको एक अन्तर्वार्तामा प्रचण्डले आफूलाई भावी प्रधानमन्त्रीभन्दा फरक नपर्ने बताएका थिए ।

प्रचण्डले त झन् मोदीसँग आफ्नो ‘केमेस्ट्री’ मिल्ने भनेर भारतीय पत्रिकालाई अन्तर्वार्ता दिएका थिए ।

मोदीको पुनरावृत्ति, नेपाललाई फाइदा कि घाटा ?

बिहीवार मध्याह्नसम्मको चुनावी नतिजाका आँकडाले भारतमा फेरि पनि नरेन्द्र मोदीको नेतृत्वमा सरकार बन्ने लगभग पक्का देखिन्छ । भारतमा मोदी सरकारको निरन्तरतासँगै नेपालसँगको सम्बन्धका विषयमा पनि गहिरो अभिरुची प्रकट गर्न थालिएको छ ।

आफ्नो कार्यकालको अन्त्यतिर र ओलीको कार्यकालको शुरूमा मोदीले नेपाललाई एउटा आश्वासनको पोको फ्याकिदिएका थिए – दिल्ली–काठमाडौं रेल्वे कनेक्सन । २४ चैत २०७४ मा दिल्लीमा भएको भेटवार्तामा भारतीय रेल्वे लाइनलाई काठमाडौंसँग जोड्ने सहमति भएको थियो ।

तर बितेका १४ महिनाको प्रगति हेर्दा मोदीको दोस्रो कार्यकालमा पनि भारतीय रेल्वे लाइन जोडिनेमा सन्देह छ । केरुङबाट काठमाडौंसम्म चिनियाँ रेल आउने चर्चा चलिरहेका बेला भारतमाथि दबाब बढेको थियो र मोदीले भारतीय रेल्वे लाइन कनेक्सनको आश्वासन दिए ।

नेपालबाट समुद्रसम्म पहुँच बढाउने विषयमा पनि ओली र मोदीबीच सहमति भएको थियो । ओलीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भनेका थिए, ‘सगरमाथाको देश अब समुद्रसँग सिधा जोडिने छ ।

मोदीको नयाँ कार्यकालमा उनले यसअघि गरेकै प्रतिवद्धता कार्यान्वयन गरेमात्र काफी हुनेछ, नयाँ आश्वासन दिनुपर्दैन । विडम्बना के भने नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा आश्वासनको भारी बोकाएर पढाउने र कार्यान्वयन नहुने पुरानै रोग छ । तराईमा बन्न लागेको हुलाकी राजमार्ग त्यसको ज्वलन्त उदाहरण हो । भारत सरकारले बनाउने घोषणा गरेको हुलाकी राजमार्ग २५ वर्षदेखि अलपत्र छ ।

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा पुष्कममल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण गर्दा नौमुरे जलविद्युत् आयोजना निर्माण गरिदिने आश्वासन भारत सरकारले दिएको थियो । ११ वर्षमा नौमुरेको कुनै प्रगति देखिएको छैन । पञ्चेश्वर आयोजना कार्यान्वयन लगायतका धेरै एजेण्डा अधुरै छन् । नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा वा भारतका प्रधामनन्त्रीले नेपाल भ्रमण गर्दा अधुरा रहेका एजेण्डा भोलिदेखि नै कार्यान्वयनमा जाने खालको प्रतिबद्धता व्यक्ति हुन्छ तर कार्यान्वयन हुँदैन ।

पहिलो कार्यकालमा ५ पटक नेपाल भ्रमण गरेका मोदीले नेपाल र नेपालीका लागि आश्वासन दिन केही बाँकी राखेनन् । पहिलो भ्रमणमा गरेको संसद सम्बोधन पछि त मोदीले नेपालको जुनसुकै स्थानबाट चुनाव लडेपनि जित्छन् भन्ने खालका टिकाटिप्पणी भए तर उनकै कार्यकालमा नेपालले अमानवीय नाकाबन्दी व्यहोर्नुपर्‍यो । भूकम्पलगत्तै भएको त्यो कहालीलाग्दो नाकाबन्दीलाई अहिलेको पुस्ताले झट्ट बिर्सने छैन ।

होला ईपीजीको प्रतिवेदन कार्यान्वयन ?

मोदीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा ओलीले भनेका थिए, ‘भारतसँग एक्काइसौं शताब्दीको आधारमा नयाँ नमूना सम्बन्ध बनाउन चाहेका छौं ।’ २१ औं शताव्दीको आधारमा नयाँ नमूना सम्बन्धको व्याख्या त गरिएको छैन । ओलीले ‘समान’ सम्बन्धको कुरा गर्दै आएका छन् । भारत भने नेपाललाई ‘भाइ’को सम्बन्ध बनाउन चाहन्छ । जस्तो कि जनकपुरमा गरेको सम्बोधनमा ओलीलाई मोदीले ‘भाइसाहेव’ भने ।

नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदन कार्यान्वयन भएमा नेपाल–भारत सम्बन्धमा नयाँ आयाम आउने विश्लेषण भइरहेका छन् । गत वर्षको साउन महिनामै बुझाउनुपर्ने प्रतिवेदन मोदीले बुझ्न मानेका छैनन् । स्मरणीय छ, ओली पहिलो पटक प्रधानमन्त्री बनेको समयमा प्रबुद्ध समूहको गठन भएको थियो । प्रबुद्ध समूहले सर्वसम्मत रुपमा प्रतिवेदन तयार गरेको छ ।

प्रबुद्ध समूहका एक सदस्य नीलाम्बर आचार्य हाल भारतका लागि नेपाली राजदूत छन् । संसदीय सुनुवाइ समितिमा आचार्यले ईपीजी प्रतिवेदन कार्यान्वयन भएमा नेपाल–भारत सम्बन्धमा नयाँ आयाम आउने बताएका थिए । तर त्यो प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन ।

अहिलेसम्म बुझ्न समेत अस्वीकार गरेको त्यो प्रतिवेदन कार्यान्वयन गर्न मोदी कति तयार हुनेछन्, त्यसमा २ देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास गर्न सकिन्छ ।

कूटनीतिक र औपचारिक रुपमा नभने पनि नेपालले लिएको नीति र मोदीको एजेण्डा फरक छन् । हिन्दूधर्मका कट्टर समर्थक मोदी नेपाल कुनै न कुनै किसिमले हिन्दूराष्ट्र होस् भन्ने चाहन्छन् ।

भाजपाभित्र मोदीको उत्तराधिकारीको रुपमा हेरिएका यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले मुख्यमन्त्री बन्नुभन्दा पहिला नेपालमा आएर हिन्दूराष्ट्रको पक्षमा वकालत गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रले यूपीमै गएर योगीलाई भेटेका थिए ।

भारतमा भाजपाको उदयलाई नेपालका ‘हिन्दूवादी’मा उत्सह देखिएको छ । परन्तु, भाजपाको हस्तक्षेपकै कारण नेपाल धर्मनिरपेक्षता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछि हट्ने सम्भावना भने रहँदैन ।

मोदीको दोस्रो कार्यकालमा नेपालका ‘कट्टर हिन्दूवादी’ उत्साही भएपनि भारतकै मात्र चाहनाले नेपालमा कुनै राजनीतिक परिवर्तनको सम्भावना भने रहँदैन ।

लोकान्तर डटकममा पन्तले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस