नेपाली युवाहरू सृजनात्मक भन्दा ध्वंसात्मक, हिंसात्मक, ईगोईस्टिक, द्वन्दात्मक, असहिष्णू, असहानूभूतिक, अन्धभक्त समर्थक, अन्धबिरोधी, असंस्कारी, डनगिरी, अगुणस्तरीय शिक्षा दीक्षामा हुर्के बढेका सोसल मिडियामा अधिकाँशका अभिब्यक्ति देख्दा महसुस हुन्छ। सिक्ने चाहना, बहस गर्ने कला र ईच्छा, ज्ञानका भोका, विनम्रता, श्रद्धाभाव, अग्रजहरूको सम्मान, अनुजहरूमा स्नेह, दुखीपिडितहरूलाई सहयोग जस्ता चारित्रिक जिवनोपयोगी गुणहरू क्रमश: हराएर आफू, आफ्ना परिवार, समाज र राष्ट्रलाई पनि दु:खी बनाउदै जादै गरेको अनुभूति गरिरहेको छु।
आफ्ना मौलिक मान्यता , संस्कार, भाषाप्रति गर्व हुन छाड्यो भने परिचय तथा पहिचानबिहीन दु:खी समाज बिकसित हुन्छ भन्ने कुरा नेपालका युवावर्गमा देख्दा मलाई सत्य लाग्न थालेको छ। युवावर्गमा आध्यात्मिक जिवन पद्दति र सो प्राप्त गर्ने सही साधनाको कमी नै यसको मूख्य कारण हो भन्ने निर्क्योल मेरो छ।
अधिकाँश त्यस्ताहरूको सोसल मिडियामा लेखिएका अशिष्ट अश्लिल, अभद्र, धूर्त, दुष्ट शब्दशैली र वाक्य रचना हेर्दा वा पढ्दा तिनका बाआमा, पतिपत्नी, दिदीबहिनी, दाजुभाइ, मामामाईज्यू, ससुराली, नाता कुटुम्व, गुरू शिक्षक, कोही पनि रहेनछन् भने जस्तो अर्थ लाग्दो रहेछ!
के मुलुकमा साच्चै अनाथ, परित्यक्त, युवा समूहको जमात सलहसरह बिकसित भएकै हो त?