• एउटै दृष्टि, भिन्न कोण
  • Search

कर्णाली टेक्नुअघि

२०७७ जेष्ठ १४ गते बुधवार

पेशल पाेख्रेेल

आमा,
म तिर्खाएको छु
मलाई पानी देऊ
म भोकाएको छु
एक फाँको सातु देऊ
बल्लबल्ल छिर्न पाएको छु मेरो भूमि
आश जागेको थियो – अब बाँच्न पाउँछु
निर्धक्क हाँस्न पाउँछु आफन्तजनसँग
तर म सीमामै तड्पिदैछु आमा
छेउ पर्दैनन् दाजुभाइ
आँखा जुधाउँदैनन् दिदीबहिनी
परैबाट भन्दैछन्,
‘तिमी त्रास बोकेर आएका छौं, भयावह त्रास !’
उनीहरूलाई के थाहा
सीमापारि कैयौं दिन झुत्ती खेल्दाखेल्दै
मेरो झोला रित्तिसकेको छ
मात्र बोकेको छु अलिकति सास
आङ सुक्न थालेको छ आमा,
म असाध्यै तिर्खाएको छु ।

थाहा छैन
कति दिन पर्खनुपर्ने हो
पत्तो छैन
कति दिन भौतारिनुपर्ने हो आफ्नै माटोमा पनि
कुन कुनातिर कति दिन थन्क्याउने हुन्
कति ‘दुर्दुर’ भोग्नुपर्ने हो
हिजो उता ‘बहादुर’ र ‘कान्छा’ भनेर हेप्नेहरू
आज यता ‘भाइरस ल्यायौ’ भनेर उतर्सिनेहरू
मैले कसलाई मान्छे भन्नु आमा ?
यो भीडमा, यो हूलमा
एक पनिउँ तातो जाउलो पाउँला त आमा ?

साभार – फेसबुक

प्रतिक्रिया दिनुहोस