• एउटै दृष्टि, भिन्न कोण
  • Search

कारण यस्तो छ… (कथा)

२०७७ भाद्र २६ गते शुक्रवार

केही कामको सिलसिलामा रामचन्द्र सहर आएका थिए। करीव १५ दिनको काम  सिद्धाएर उनी आफ्नो गाउँ फर्किने निधो गर्छन्।

गाउँ जाने बसको टिकट लिएर उनी यात्री बसमा चढ्छन्। बसभित्र यात्रु खचाखच भरिँदै गए। एकछिन पछि खलासीले सबै यात्रीको सिट् चेक गरेर ‘लौ…है! गुरूजी यात्रा आरम्भ गरौं,’ भनेर कराउँछ। खलासीको आदेशसँगै बसका चक्काहरु गुड्न थाल्छन्। बसमा गाडीका चक्कासँगै सिडीबाट गीत पनि बज्न थाल्छ, ‘पर्ख पर्ख मायालु म पनि त आउँला, रेलको झ्याल समाएरसँगै भागौंला।’ बसमा बजेको सुमधुर गीत, वर्षायामको हरियाली प्रकृति अनि सुन्दर वातावरणमा डुब्दै गाडीले यात्रीलाई गन्तव्यतिर लाँदैछ।

‘जिन्दगी कहिले काहिँ यस्तो रमाईलो पनि हुँदो रहेछ’ तर हामीले जिन्दगीका रमाईलापललाई कहाँ सम्झने गर्छौँ र!

गाडी आफ्नो गतिमा गुड्दै सहरका ठूला ठूला घर, महल र धरहरासँग बिदा लिँदै जङ्गलको बाटो लाग्छ।

रामचन्द्रसँगै बसमा भएका सबै यात्री बाहिरको हराभरा जङ्गल र वन कुसुमका सुन्दरतामा मख्ख थिए। रामचन्द्रको सिट अगाडि बसेका एक प्रेमील जोडीले वातावणलाई थप गुलाबी रङ भरिदिएका थिए। ती जोडीलाई हेरेर उनले आफ्नी रामप्यारी सीतुलाई सम्झिए।

‘अहो… मेरी सीतु पनि आएकी भए यो यात्रा झन् कति रमाइल‍ो र यादगार हुने थियो होला,’ कल्पनामा हराउँदै उनका आँखाहरू निदाउन लाग्छन्। सपनामा सीतुसँग खुब छेड्छाड हाँसो मजाक हुँदै थियो।

अचानक ‘चु…. ई… गजक्क..’ आवाज निकाल्दै बस रोकियो। यात्रीहरू हरे शिव..शिव..!, हे राम! हे प्रभु!..भन्दै चिच्चाउँन थाल्छन्। रामचन्द्र पनि यात्रीको आवाज सुनेर आत्तिएर कराउँछन्, ‘के भो?..कता के हो?’ यहिँ बिचमा बसको खलासीले ‘कोही हताश नहुनूहोस्। हाम्रो बसको टायर पम्चर भएको हो। सबैजना तल झरिदिनुहोस्’, भन्छ।

सबै यात्री बसबाट ओर्लिन्छन्। जङ्गलको बिच बाटोमा कुनै ग्यारेज नहुँदा टायर फेर्न असहज हुन्छ। खलासी र ड्राइभरको सकेको प्रयास गर्छन्। तर केही सिप लागेन।

खलासी मिस्री खोज्न नजिकैको गाउँ जान्छ। भदौको चर्को घामले यात्रीहरू भोक र प्यासले व्याकुल हुन्छन्। हेर्दा हेर्दै दिन ढलेर साँझ पर्न लाग्यो। गाडी बन्ने कुनै छाँटकाँट थिएन। ‘अब केही उपाय खोज्नु पर्‍यो ड्राइभर दाइले,’ सबै यात्रीले एकै स्वरमा भन्छन्। ‘यहाँबाट करीब १-२ किलोमिटर जति हिँढेर गएपछि एउटा सानो गाउँ आउँछ। त्यहाँ पिउने पानी र खानेकुरा पाइन्छ। कृपया हजुरहरू त्यहिँ गएर प्रतिक्षा गर्दै गर्नुहोला हामी गाडी बनाएर त्यहिँ आउँछौं,’ ड्राइभरले सल्लाह दिए।

तिर्खा र भोकले ब्याकुल यात्रीहरू १-२ किलोमिटर दूरी हिँड्न तयार हुन्छन्। रामचन्द्र पनि यात्रीका जमात पछि लागेर हिँढ्दै एउटा २५-३० घर भएको गाउँमा पुग्छन्।

भोक र प्यासले आकुल भएका यात्रीहरू खुसी हुँदै पानीका बोतल र मिठाइ किन्न व्यस्त हुन्छन्। रामचन्द्र पानीको एकघुट्को पिउँदै पसलेलाई सोध्छन्, ‘ए…भाइ! यो गाउँको नाम के हो नि?’  ‘यो गाउँको नाम बुधबारे हो दाइ भनेर जवाफ दिए। गाउँको बारेमा थप केही जान्न मन लागेका कुराहरू पसलेलाई सोध्दै थिए। बिचमा एक व्यक्ति नजिक आएर उनलाई नियाल्दै भने, ‘ए…साथी! तिमी रामचन्द्रे हैनौं र? मलाई चिनेनौं? म डिल्ले के डिल्ले…डिल्लिराम। तिमीहरू मलाई गोठाले भन्दै गिज्याउने गर्थौ नि कलेज पढ्दा। सम्झना आयो कि नाइ’, उनले एकै स्वासमा सबै भने। ‘अहो…डिल्ले…डिल्लीराम मित्र,’ भनेर विगत सम्झन्छ। अनि बल्ल रामचन्द्रले आफ्नो कलेजका साथी डिल्लिरामलाई हर्षका साथ अंङ्गालो हाल्छन्।

दुबै साथी आ-आफ्ना गतिविधि सुनाउँदै डिल्लीरामको घर तिर लाग्छन्। घरको ढोका बाहिरबाट नै डिल्लीले आफ्नी श्रीमतीलाई आवाज दिन्छन्, ‘ए…माइली!, सानूकी आमा। यता आ’त । हेर आज को पाहुना लिएर आएँ, मैले?’

सानुकी आमा भान्साकोठाबाट बाहिर निस्कदै ‘अहो! आज बिहानै काग कराउँदै थियो। हाम्रा पूर्खा भन्थे काग करायो भने कि त दूरबाट केही सन्देश आउँछ या दूरका पाहुना। रामचन्द्र भाइ पो आउनु भएछ। स्वागत छ है,’ खुसी हुँदै स्वागत गर्छिन्।

डिल्लिरामले सानुकी आमालाई रामचन्द्रसँग भेट हुनुको कारण बताउँछन्। सानुकी आमाले ‘भोजन खाएर मात्र फिर्नुपर्छ है,’ भन्दै भन्सातिर लाग्छिन्।

‘ए  सानुकी आमा! पाहुनालाई चिया खाजा खुवाउँदै‌ गर है। म बसको अवस्था बुझेर आउँछु’ भन्दै डिल्लीराम हिँडे। सानुकी आमाले चिया दिँदै ‘रामचन्द्र भाइ! तपाईँ खसीको मासु खानु हुन्छ नि?’ भनेर सोध्छिन्।

रामचन्द्रलाई पनि के खोज्छस् कानो आँखो भनेझैं भयो। घरबाट निस्किएको १५ दिन हुँदासम्म राम्रो भोजन नभेट्टाएको उसले भात पसलका माछा, मासु नरूचाउने भएकाले मीठो भोजनको इच्छा पुरा हुनेभो भन्दै हत्पत ‘खान्छु नि भाउजु! गज्जबले खान्छु,’ भन्यो।

सानुकी आमा पनि भान्सा तिर व्यस्त हुन्छिन्। रामचन्द्र पनि आजको खसीको मासु र भात खाने भइयो भनेर कल्पनामा मस्त हुन्छन्। केहीबेरपछि बसको अवस्था बुझेर डिल्लीराम आउँछन् ‘मित्र रामचन्द्र! अब खाना खाएर ठिक पर्नु पर्‍यो है एक-दुई घण्टामा बस ठिक हुने रछ है।’

सानुकी आमा यो कुरा सुनेपछि खाना तयारी भएको कुरा सुनाउँछिन्। हातमुख घोएर दुबै मित्र खाना खान बस्छन्। रामचन्द्रले टेबुलमाथि राखिएका व्यञ्जनमा सरर एक नजर डुलाउँछन्। आलु भुटेको, गुन्द्रुकको झोल, मूलाको अचार। खै त खसीको मासु! मनमनै सोच्छन्, ‘टेबलमा नराखेको पनि त हुनसक्छ। पछि भातराखे र भातमाथि नै  राखिदिने हो कि!,’ सोच्दा सोच्दै खाना खाईसक्छन्।

सानुकी आमाले सोधिन्, ‘रामचन्द्र भाइ! भोजन कस्तो लाग्यो त?’ रामचन्द्रले जवाफ दिए, ‘भाउजू भोजन त एकदम स्वादिलो नै लाग्यो। तर एउटा कुरा चै पचाउन निकै गाह्रो भएको छ मलाई।’

‘के कुरा हो र बाबु त्यस्तो?,’ सानुकी आमाले सोधिन्। ‘अघि हजुरले मलाई खसीको मासु खानुहुन्छ भनेर सोध्नु भो। अहिले भोजनमा चैँ आलु भुटुवा र गुन्द्रुकको झोल। यस्को कारण चाहीँ के थियो भाउजु मैले त केही बुझ्न सकिनँ नि, कि मैले नै सुन्न गल्ति पो गरे कि?’

रामचन्द्रको कुरा सुनेर सानुकी आमालाई हाँस्नु कि रूनु भयो। ‘ए…मैले तपाईँलाई ढाँटे जस्तो पो भएछ। त्यो मेरै गल्ति हो बाबु। मेरो नै सोध्ने ढंग पुगेनछ। सुन्नुहोस् न रामचन्द्र बाबु! यसको कारण यस्तो छ, आज बिहान मैले खसीको मासु पकाएकी थिएँ। बोसै बोसो भएको खसी रहेछ। खसीको मासु त सिद्धियो तर बोसो कराहीमा टाँसिएको थियो। आइमाईको जात लोभी नै हुँदा रहेछन्। मलाई पनि फ्याल्न लोभ लाग्यो र त्यसैमा आलु भुट्न लागेकी थिएँ, तपाईँ आइपुग्नु भयो। त्यसैले तपाईँले मासु खानु हुन्छ कि हुँदैन भनेर सोधेकी।’

सानुकी आमाको कुरा सुनेर सबैजना मुसुमुसु हुन्छन्। ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भने झैँ भए छ है आजको मेरो परिस्थिति। हाहाहा!!! रामचन्द्रको कुरापछि कोठाभरी हाँसोको फोहोरा नै छुट्यो।

प्रतिक्रिया दिनुहोस