• एउटै दृष्टि, भिन्न कोण
  • Search

मधुसूदनका मीठा मुक्तक !

२०७७ भाद्र २७ गते शनिवार

अखण्डित एकतामा पनि “र”कार खडा भए पछि
परामर्शको ठाउँमा ठाडै “न”कार खडा भए पछि
कसरी समाज उन्नति तर्फ अगाडि बड्न सक्ला र !
हरेक कार्यमा अहं बोधक “म”कार खडा भए पछि

घरकै व्यक्तिले घरको इज्जत लुट्ने रहेछन्
जता दाम छ आसक्तिहरू त्यतै जुट्ने रहेछन्
नाम कमाउने आशामा काम गर्ने हरामहरुले
केही नजान्ने लाटाहरूको बुद्धि भुट्ने रहेछन्

हुन त के हो खै ! तर पनि फलिरहेको छ
सुखको आश देखाएर सधैँ छलिरहेको छ
यो गर्छु त्यो गर्छु भन्दा भन्दै कठै! हाम्रो शरीर
समयको ज्वालाले प्रत्येक पल जलिरहेको छ ।

हात्ति बान्न सक्नेले जिब्रो पनि बान्न पर्यो
आज्ञा दिने व्यक्तिले स्वयं पनि मान्न पर्यो
परोपदेशमा चतुर भएर के गर्ने महाजन !
देखावटी मात्र हैन यथार्थ पनि जान्न पर्यो

माग्नु भन्दा पहिला मिलेको समाउन आवश्यक छ
आत्मनिर्भर भएर आत्मशक्ति जमाउन आवश्यक छ
यो संसारको अर्को नाम नै दुःखालय हो, मित्र !
यहाँ वस्तुमा भन्दा वास्तवमा रमाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस