• एउटै दृष्टि, भिन्न कोण
  • Search

कुसुमलता

२०७७ असोज ४ गते आइतवार

मैले चिनेको, मेरै गाउँकी एक भर्खरकी सुन्दर युवतीको टाउको अत्याधिक दुख्नेभयो। नाम- कुसुमलता। टाउको दुखे पनि ऊ हिँडडुल गर्न भने सक्थी।

उसका आमाबाबाले उपचार गर्न भनेर शहरका विभिन्न स्पेशियलिष्ट डाक्टरलाई देखाए। उसको जाँच गरे डाक्टरले तर एक जना डाक्टरले पनि उसको रोगबारे कारण पत्ता लगाउन सकेनन्। न त उसको टाउको दुख्ने रोग निको पार्न नै सके।

अन्त्यमा हार खाएर उसलाई आमाबाबाले भेलोरको क्रिष्टियन मेडिकल कलेजमा उपचारका लागि लगे तर त्यहाँ पनि उसको रोगबारे पत्तो लागेन। अनुमानको भरमा डाक्टरले तीन महिनाका लागि औषधि खानू भनेर औषधिको नाम लेखेर दिए। तर उसको टाउको दु:ख्ने रोग बीसको उन्नाइस भएन।  त्यसपछि उनलाई लिएर आमाबाबा शिलाङ फर्किए। शिलाङमा केही औषधि पनि किने। तर पूरा औषधि भेटिएन। आधा किनेर घर फर्किए।

औषधि विक्रेताले ती डाक्टरले लेखिदिएको औषधि अहिले शिलाङमा ‘आउट अफ स्टोक’ भएको बताए। अर्को महिना आउँछ भनेर पठाए।

एकदिन म हुलाक घरमा जान भनेर घरबाट निस्किएँ। जाने कारण-‘हाम्रो ध्वनि’ पत्रिकामा आफूले लेखेको कथा बुकपोष्ट गरेर पठाउन। अनायास ऊ सँग मेरो भेट गाउँको बाटैमा भयो । उनी कतै गइरहेकी थिईन्।

मैले सोधेँ, ‘कुसुमलता कता हिँडेकी?’

‘दबाई किन्न पुलिस बजार जाँदैछु, सर,’ उसले मलिन स्वरमा जवाफ दिइन्।

‘कसको लागि?’

‘आफ्नै लागि, सर।’

‘के भयो तिमीलाई?’

उसले टाउको दुख्ने भएर भेलोरसम्म पुगेकी। भेलोरको डाक्टरले तीन महिनाका लागि औषधि लेखिदिएको तर दुई महिनासम्मका लागि औषधि पाएकाले बाँकी औषधि आएको छ कि भनेर पुलिसबजार निस्केकी रहिछन्। तर दुई महिनासम्म औषधि आए पनि उनको टाउको दुख्ने व्यथा गएको रहेनछ। उनले आफ्नो रोगबारे इतिवृतात्मक कुरा बताईन्।

मैले उसलाई भनेँ,‘म पनि पुलिसबजारनै जाँदैछु। पोष्टअफिस पुगेर एउटा कथा पोष्ट गर्नुछ, हाम्रो ध्वनिका लागि’, हिँड्दै उनलाई भनेँ,‘म तिमीलाई एउटा सजेसन दिन चाहन्छु।’

‘कस्तो सजेसन, सर?’

‘तिमीले आखाँ छोप्ने गरी आगाडिको जुन कपाल राखेकी छ्यौ,यो काट्नू।’

‘किन र , सर?’

‘तिम्रो टाउको दुख्ने बिमार जाती हुन्छ कि भनेर।’

उनी छक्क परेर बोलिन्, ‘यस्तो कहाँ होला र डाक्टरले नसकेको कुरा, सर।’

‘तै पनि एकपल्ट मेरो कुरा मानेर हेर त।’

‘तर तपाईँले के कारणमा भन्नु भएको सर, आँखा छोप्ने गरी राखिएको कपाल काटेर मेरो टाउको दुख्ने रोग जाती हुन्छ भनेर?’उनले ममाथि जिज्ञासा राखिन्।

मैले भनेँ,‘पहिला तिमी जाती हौ, अनि बल्ल म बताउनेछु। अहिले तिमी जाती भएकी छैनौं। बताउन उचित होइन। जे भए पनि एक पल्ट मैले भनेको कुरा मान। जाती नभए फेरि  तिमीले आँखा छोप्ने गरी कपाल राख्न सक्छ्यौ’

अर्को केही दिन पछि फेरि उनलाई मैले बाटोमा टाढैबाट देखेँ। उसले अगाडिको कपाल काटेकी रहिछन्। त्यसको एक महिनापछि कुसुमलता मेरो थोत्रे कोठामा मलाई भेट्न भनेर आईन्। तर ऊ एक्लै आएकी थिइनन्। साथमा उनीसँग कागजको एउटा थैलो थियो।

उसले त्यो थैलो मलाई दिँदै हर्षित स्वरमा भनिन्,‘सरको लागि ल्याइदिएकी।’

थैलो खोलेर हेरेको, गुप्ता होटलबाट ल्याएकी ताजाताजा विभिन्न मिठाईहरू थिए।

उनलाई सोधेँ, के खुशीमा ल्याएकी यत्रो मिठाई?’

उनले प्रत्युत्तरमा भनिन्, ‘सर, तपाईँले गर्दा टाउको दुख्न छोडेको खुशीमा। आँखा छोप्ने कपाल काटेको केही दिनपछि टाउको दुख्न कमी हुँदै गयो। अहिले म एकदमै ठिक भएकी छु, सर।’

मैले खुशी हुँदै एउटा मिठाई मुखमा च्वाक्क हालेर भनेँ, ‘राम्रो भयो।’

‘सर, तपाईँले कसरी थाहा पाउनुभयो? आँखा छोप्ने किसिमको कपाल काटेँ भने मेरो टाउको दुख्ने बिमार जाती हुन्छ भनेर?’ उनले मबाट जान्न खोजिन्।

मैले भनेँ, ‘जाती हुन्छ कि हुँदैन भन्ने त मलाई नै आफूमाथि विश्वास लागेको थिएन तै पनि आफ्नो अनुमान तिमीमाथि प्रयोग गरौं भनेर कपाल काट्नू भन्ने कुरा गरेको थिएँ कतै मेरो विश्वास साँचो हुन्छ कि भनेर।’

मैले उनलाई सम्झाउँदै कुरालाई अगाडि बढाएँ, ‘तिमीसँग त्यो दिन बाटोमा भेटेर कुरा गर्दा मैले के नोट गरेको थिएँ भने, कुरा गर्दा गर्दै आफ्नो टाउको समयको ग्याप दिएर तिमीले झट्काउने गरेकी आँखा अगाडि कपाल आउँदा कपाललाई आँखाबाट पन्छाउन भनेर अनि मलाई लाग्यो–यहीँ झट्काउने बानीले गर्दा तिम्रो घाँटीको नसा कतै सड्किएर टाउको दुःखेको होकि भन्ने भयो। अनि मैले त्यस्तो सजेसन दिएको थिएँ, तिमीले टाउको झट्काउँदिनौं भनेर अनि…’

मैले पूरा कुरा भन्न नपाई उसले बीचैमा भनि, ‘बुझेँ, सर।’

‘तिमीलाई कुरा बुझाउन अझ भन्छु ल,’ उनलाई हेरेँ।

‘हुन्छ, सर!’

मैले भनेँ, ‘कुसुमलता, जब शरीरको कुनै पनि अंगलाई हामीले स्वाभाविक रूपमा गतिशील पार्दैनौं अनि त्यहीँ  अस्वाभाविक रूपमा गतिशील पारिरह्यौँ भने, त्यो अंगमा विकार आउन थालेर दुख्न लाग्छ। त्यो अंगमा रोग पनि लाग्नसक्छ। मोबाइलमा सेल्फी पनि सधैँ लिँदा हातको गतिशीलता विपरीत भएर हात पनि दुख्ने गर्छ। आजका कतिपय युवा सेल्फी लिँदा कति त नदीमा डुबेर ,छतबाट खसेर मरेका पनि छन्।’

अनि उसलाई आशीर्वाद दिँदै भनेँ, ‘तिमीले मेरो कुरा मानिदियौ। तिमीजस्तै कुरा बुझ्ने, मान्ने अरू हाम्रा चेलीहरू भइदिए.. भइदिए..।

प्रतिक्रिया दिनुहोस