• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको सहमतिमा डाकियो

काठमाडौ २०७७ कार्तिक २७ गते बिहिवार

नेकपाको सचिवालय बैठक सहमतिमै शुक्रबार बस्ने भएको छ। पार्टी महासचिव विष्णु पौडेलले शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए।

सचिवालय बैठकका लागि पछिल्ला केही हप्ता नेकपा शीर्ष तहमा विवाद हुँदै आएको थियो। पार्टी अध्यक्ष केपी ओलीले पहिले एजेन्डामा सहमति गरेर मात्रै बैठक बस्ने बताउँदै आएका थिए।

तर प्रचण्ड, खनाल, माधव नेपाल, वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठले बैठकको लागि दबाब दिँदै आएका थिए। उनीहरुले शुक्रबार सचिवालयको अनौपचारिक बैठक बसेर बैठकका लागि ओलीलाई अनुरोध गर्ने निर्णय गरेका थिए। सोही अनुसार शनिबार दुई पाने लिखित अनुरोध मार्फत् बैठकका लागि सहमति दिन ओलीलाई आग्रह गरेका थिए।

मंगलबार पनि प्रचण्डले ओलीलाई भेटेर २७ गते बैठकका लागि सहमत हुन भनेका थिए। तर ओलीले निर्णय दिएका थिएनन्। मंगलबार बसेको सचिवालयको बहुमत सदस्यको बैठकले २७ गते बैठक बस्ने आशा गरेको थियो।

ओली बैठकको लागि तयार नभए बहुमत पक्षले औपचारिक बैठक बसेरै निर्णय गर्ने तयारी गरेपछि ओली बैठकका लागि तयार भएका हुन्। उनले महासचिव विष्णु पौडेललाई बैठकको लागि निर्देशन दिएपछि शुक्रबारको मिति तय भएको हो।

प्रतिक्रिया दिनुहोस