रोल्पा र प्यूठानको सिमानामा मंगलबार राति अज्ञात समूहले पुल निर्माण गरिरहेको एक्स्काभेटर जलाएको छ । रोल्पा र प्यूठानको सिमानामा पक्की पुल निर्माण गरिरहेको आँसु निर्माण सेवा कम्पनीको एउटा एक्स्काभेटर अज्ञात समूहले जलाइदिएको हो। प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचानका लागि प्रहरी परिचालन गरिएको जनाएको छ।
प्यूठानको स्वर्गद्वारी नगरपालिका र रोल्पाको सुनिलस्मृति गाउँपालिकाको सिमानामा पर्ने घोराखोला (घोडागाउँ जाने सडक) को पुल निर्माणको कामको लागि उक्त एक्स्काभेटर प्रयोग हुँदै आएको थियो। आँसु निर्माण सेवा कम्पनीको २०५ नम्बरको एक्स्काभेटरमा ठूलो क्षति पुगेको छ। सडक पूर्वाधार कार्यालय रोल्पाबाट पुल निर्माणको ठेक्का पारेर निर्माण सेवाको मेसिन एक महिनादेखि घोराहखोलामा पुल निर्माणको काममा थियो ।
‘मेसिन जलाउन अज्ञात समूह रातको १० बजेतिर आएको अनुमान छ’, रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीका अनुसार, ‘घटनाका दोषीको खोजी भइरहेकै छ।’ उक्त घटनामा तीन जना अपरिचित व्यक्ति आएको हुनसक्ने स्थानीयलाई हवाला दिँदै प्रहरीले जनाएको छ। एक्स्काभेटरको सुरक्षार्थ त्यहीँ सुतेका अपरेटरलाई उक्त समूहले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । प्रहरीले स्थानीय एक जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।