• एउटै दृष्टि, भिन्न कोण
  • Search

सुरक्षा परिषदको बैठक बस्दै, संकटकाल बारे छलफल हुने

काठमाडौ २०७७ पुष ५ गते आइतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका छन् । ४ बजे बस्ने सुरक्षा परिषदको बैठकमा संकटकाल लागू गर्ने विषयमा समेत छलफल हुने भएको छ । आज बिहान राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका प्रधानमन्त्रीले राष्ट्रपतिले संसद भंगको सिफारिस सदर गरेसँगै राजधानी उपत्यकामा प्रहरी परिचालन तीव्र पारिएको छ ।

राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष प्रधानमन्त्री स्वयं हुन् । यसबाहेक परिषदका सदस्यहरु रक्षामन्त्री, गृह मन्त्री, परराष्ट्र मन्त्री, अर्थ मन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति हुन्छन् । अहिले रक्षा मन्त्री पनि प्रधानमन्त्री स्वयं हुन् । गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थ मन्त्री विष्णु पौडेल, मुख्य सचिव शंकरदास बैरागी र प्रधानमसेनापति पूर्णचन्द्र थापा छन् ।

बैठकमा संकटकाल लगाउने विषयमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेसँगै चौतर्फी विरोधका स्वरहरु सुनिदै आएका छन । केही दल र संगठनहरुले बालुवाटारमै विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

देशैभरी यस्ता कार्यक्रमको घोषणा हुन थालेपछि सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाइएको हो । बैठकमा सम्भावित सुरक्षा खतरा र त्यसका लागि उठाउनुपर्ने कदमबारे छलफल हुने बताइएको छ ।

अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवासको सुरक्षा कडा पारिएको छ । त्यहाँको बाहिरी भागको चारैतिर नेपाल प्रहरी र सशस्त्रको घेरा हालेर सुरक्षा दिइरहेको छ । निषेधित क्षेत्रमा प्रदर्शन हुन नदिन विषेश सुरक्षा व्यवस्था अपनाइएको छ ।

प्रतिक्रिया दिनुहोस