गंगादेव गाउँपालिकाका अध्यक्ष बिर बहादुर खत्रीले संचार माध्याममा दिएको अभिव्यक्ति प्रति नेपाली कांग्रेस गंगादेव रोल्पाले आपत्ति जनाएको छ । अध्यक्ष खत्रीले दिएको अभिव्यक्ति नैतिकता बिरोधि भएको र कुनै व्यक्तिको चरित्र हत्या गर्ने, गाली बेइजती गर्ने,अरुलाई अवहेलना गर्ने, सामाजिक शान्तिमा खलल पर्ने र नागरिक विच विभेद गर्ने खालको रहेको विज्ञप्ति मा भनिएको छ ।
गंगादेव गाउपलिका छायाँ सरकार प्रमुख हरिबहादुर पुनमगर र नेका गंगादेव सभापति दीपेन्द्र बहादुर डाँगी द्वारा जारी विज्ञप्ति मा भनिएको छ ‘स्थानीय सरकार जस्तो गरिमामय सार्वजनिक पदधारण गरेका व्यक्तिले मदिरा सेवन गरि अत्यन्त निकृस्ट ढंगबाट दिएको अभिव्यक्तिको घोर भत्सना गर्दछौ ।
कोरोना महामारीको समयमा गाउपालिकामा सहयोग गर्न खोज्ने व्यक्ति तथा संस्थाहरुलाई सहयोग गर्न नदिई डर, धम्कि र त्रास उत्पन्न गरि निरंकुश भन्न खोज्नु पदीय दुरुपयोग भएको भन्दै सार्वजनिक संचार माध्यमबाट दिएको अभिव्यक्ति सामाजिक अपराध भएको ठहर गर्दै कारबाहीको लागि सरकारको ध्यानकर्षण समेत गराएको छ ।

त्यस्तै अध्यक्षले दिएको अभिव्यक्ति प्रति नेकपा (एमाले) गंगादेव गाउँसंगठन कमिटी रोल्पाले पनि आपत्ति जनाएको छ । पदीय मर्यादाको ख्याल नगरी संचार माध्याममा नागरिकलाई गालीगलौज र धम्कि दिएको भन्दै नेकपा (एमाले) गाउँ संगठन कमिटिका अध्यक्ष रोशन कुमार वलीले बिज्ञप्ति जारि गर्दै आपत्ति जानाइएको छ ।

मदिरा सेवन गरेर पत्रकार र एक महिला माथि प्रयोग भएका अबिब्यक्ति क्षमा योग्य नभएको ओलीले बताएका छन् । कोरोना महामारीको समयमा दुखद निधन भएका स्थानीय नागरिक प्रति अपमान गरेको भन्दै खेद समेत प्रकट गरेका छन् ।
अध्यक्ष खत्रीले गएको आइतबार रोल्पाको स्थानीय रेडियो ‘रेडियो मालश्री’ को कार्यक्रम ‘मालश्री संबाद’ मा अन्तर्वार्ता दिएका थिए ।