• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेइमार भन्छन कोपा अमेरिकाको फाइनलमा ब्राजिलको प्रतिद्वन्द्वी अर्जेन्टिना होस

काठमाडौ २०७८ असार २२ गते मङ्गलवार

ब्राजिलका फरवार्ड नेइमारले कोपा अमेरिका २०२१ फाइनलमा ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुने आसा व्यक्त गरेका छन्।

कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेलमा सोमबार विहान पेरूलाई १-० गोलले पराजित गर्दै आयोजक ब्राजिलले फाइनलमा स्थान पक्का गरेपछि नेइमारले यस्तो बताएका हुन्।

अब उपाधिका लागि ब्राजिलले आगामी शनिबार अर्जेन्टिना वा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिना र कोलम्बियाबीच भोलि बुधबार विहान दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा हुँदैछ।

‘फाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा होस् भन्ने चाहान्छु। त्यसका लागि मैले अर्जेन्टिनालाई समर्थन गरिरहेको छु,’ नेइमारले पेरूविरुद्धको खेलपछि हाँस्दै भने,’अर्जेन्टिनी टिममा मेरा साथी छन्। र फाइनलमा ब्राजिलले जित्नेछ।’

ब्राजिल र अर्जेन्टिनाबीच पछिल्लो पटक सन् २००७ को कोपा अमेरिकाको फाइनलमा प्रतिस्पर्धा भएको थियो। भेनेजुएलामा भएको उपाधि भिडन्तमा ब्राजिलले ३-० गोलले अर्जेन्टिनालाई हराएर उपाधि जितेको थियो।

यसपटक अर्जेन्टिना फाइनलमा पुगे प्रतियोगिताका अपराजित टिमबीच उपाधि भिडन्त हुनेछ। सो खेल १० नम्बरका जर्सी लगाउने लिओनल मेसी र नेइमारबीचको भिडन्तको रूपमा लिन सकिनेछ।

स्पेनिस क्लब बार्सिलोनाका पूर्वसहकर्मी मेसी र नेइमारले जारी प्रतियोगितामा उत्कृष्ट खेल देखाइरहेका छन्। नेइमारले जारी प्रतियोगितामा दुई गोल र तीन एसिस्ट गरेका छन् भने मेसीले चार गोल र चार एसिस्ट गरिसकेका छन्।

ब्राजिल कोपाको साविक विजेता हो। अर्जेन्टिना र कोलम्बियाले संयुक्त रूपमा आयोजना गर्ने तय भएको कोपा अन्तिम अवस्थामा ब्राजिलमा भएको हो। कोलम्बियामा राजनीतिक आन्दोलन र अर्जेन्टिनामा कोरोना कारण प्रतियोगिता हुन नसकेको हो।

स्पेनिस क्लब बार्सिलोनाका लागि दर्जनौ उपाधि र कीर्तिमान बनाएका मेसीले अर्जेन्टिनाका लागि कुनै मुख्य उपाधि जित्न सकेका छैनन्। त्यसो त अर्जेन्टिना सन् १९९३ को कोपा अमेरिकाको उपाधि जितेपछि मुख्य प्रतियोगितामा चुक्दै आएको छ।

प्रतिक्रिया दिनुहोस