• एउटै दृष्टि, भिन्न कोण
  • Search

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोख्रेलका ४२ महिना मुख्य ४५ काम

लुम्बिनी प्रदेश २०७८ साउन २९ गते शुक्रवार

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो ३ वर्ष ५ महिना २५ दिनको कार्यकालमा व्यक्तिगत र संस्थागतरुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सम्वन्धमा महत्वपूर्ण काम भएको दावी गरेका छन् ।

०७४ साल फागुन ३ गते नेकपा माओवादी केन्द्रको सहयोगमा दुई तिहाइ मत सहित लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेल बुधबार पदबाट राजिनामा दिएका थिए ।

उनले नवनियूक्त मुख्यमन्त्री कुलप्रसाद केसीको सरकारलाई शुभकामना दिदै आफ्नो नेतृत्वको सरकारलाई सहयोगका लागि सबैलाई धन्यवाद दिएका छन्। केन्द्रमा नेकपा विभाजन भएसंगै त्यसको प्रभाव प्रदेशहरुमा समेत देखिएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसला बमोजिम एमाले र माओवादी केन्द्र साविकरुपमा ब्यूँतिएपछि ओली पक्षले एकले एक पछि अर्को गर्दै धक्का व्यहोर्दै गएको छ । यस अघि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजिनामा दिइसकेका छन् । अब एमालेको नेतृत्वमा वागमती प्रदेश र प्रदेश १ मा मात्र नेतृत्व रहेको छ भने आन्तरिक विवादकै कारण एमाले नेतृत्वको संघीय सरकार ढलिसकेको छ ।

एमालेभित्र बौद्धिक र संघीय सरकारका प्रधानमन्त्रीको बलियो खम्बा मानिएका पोखरेल आलोचित र बदनामी कमाएर बर्हिगमन हुन पुगेको बिश्लेशन हुन थालेको छ। 


यस्ता छन् पोखरेल नेतृत्वको सरकारले गरेका कामका विवरण :

१- प्रदेश स्थापना हुदाको समयको प्रदेशको वस्तुस्थिति झल्कने स्थिति पत्रको प्रकाशन
२- कर्मचारी व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको पदस्थापन र सरुवा हुने व्यवस्था र आधारभूत संगठन संरचनाको निर्माण
३- प्रदेश योजना आयोगको गठन र एक वर्षभित्र नै पंचवर्षिय योजना निर्माण
४- कानुन आयोग र मस्यौदा समितिको गठन र कानुनको निर्माणमा तिव्रता
५- आवधिक योजनाका आधारमा वार्षिक नीति तथा कार्यक्रम र मध्यकालिन खर्च संरचना तयार गरी कार्यान्वयनको थालनी
६- प्रदेशको नाम लुम्विनी र स्थायि राजधानी राप्ती उपत्यका(देउखुरी)दाङ्मा तोक्ने ऐतिहासिक निर्णय
७- कृषि उद्योग र पर्यटनलाई अर्थतन्त्रको विकासको आधारको रुपमा पहिचानगरी त्यसको विकासको योजना र कार्यक्रम निर्माण
८- सामाजिक र मानविय विकासका लागि शिक्षा,स्वास्थ र सामाजिक क्षेत्रको विकासको थालनी
९- दुईवटा प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पताल र १२वटा जिल्लास्तरिय अस्पतालहरुको क्षमता विस्तारगरी ५० सैयाको अस्पतालका रुपमा स्तरोन्नतरी
१०- लमहीमा ट्रमा सेन्टर र चन्द्रौटामा सरुवारोग अस्पतालको निर्माणको थालनी
११- ४ वटा कोरोना विशेष अस्पतालको निर्माण र संचालन, आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर र क्वारेन्टिनको व्यवस्थापनमा विशेष भूमिका
१२- विश्वविद्यालय स्थापना संवन्धि छाता ऐनको निर्माण र वाँकेको खजुरामा विश्वविद्यालय स्थापनाको निर्णय
१३- स्मार्ट कृषि गाउ कार्यक्रम, हरित स्वयमसेवक, करार खेती, कृषिकर्मी रोजगार कार्यक्रम लगायत कृषिक्षेत्रको विकास र रुपान्तरणका योजना तथा कार्यक्रम
१४- प्रदेशको विविधता एकै थलोमा प्रदर्शन गर्नेगरी प्रदेश एस्पोको सफल आयोजना
१५- आंचलिक मनोविज्ञानलाई प्रादेशिक मनोविज्ञानमा रुपान्तरणगरी हामी लुम्विनीवासीको भावना निर्माण
१६- सुस्ता, मर्चवार र नरैनापुरजस्ता सिमावर्ती क्षेत्र र सिमानाकाको विकासमा अग्रसरता
१७- रणनीतिक सडक संजालको योजनावद्ध विकास र पालिकाको केन्द्र जोड्ने सडकको निर्माण
१८- प्रदेशमा एक करोड भन्दा कम लागतका सवारी साधनको मात्र खरिदको व्यवस्था । मुख्यमन्त्रीका लागि नयाँ गाडी नकिनिएको ।
१९- सुशासन ऐनको निर्माणगरी साधारण खर्च कटौती र विकासखर्चमा पारदर्शीता निर्माण
२०- प्रदेशको अधिकांश बजेट ठेक्का व्यवस्थापनका माध्यमवाट कार्यान्वयन
२१- एकवर्षमा ४० हजार घरमा धार जडान गर्न सफल
२२- सिचाई, खानेपानी, तटवन्ध र सडकपुलमा शतप्रतिसत भन्दा वढि बजेटखर्च गर्ने क्षमताको विकास
२३- तीन वर्षको छोटो अवधिमा पूँजीगत खर्च सतप्रतिसत गर्न सफल
२४- केन्द्र र स्थानिय तहसंगको राम्रो समन्वय र सहकार्य
२५- औसतमा प्रत्येक वर्ष २०० किलोमिटर सडक कालोपत्रे गर्न सफल
२६- आगामी वर्ष झण्डै ८०वटा पुल निर्माण हुने अवस्थाको निर्माण
२७- केन्द्रवाट हस्तान्तरित सशर्तका कार्यक्रममा सतप्रतिसत भन्दा बजेट परिचालन गर्न सफल
२८- केन्द्रका ठुला र गौरवका आयोजनाको कार्यान्वयनमा सहजिकरण
२९- लुम्विनी प्रदेशको दिर्घकालिन योजनाको आधार तयार
३०- ठुला औद्योगिक क्षेत्रका लागि जमिनको सुनिश्चितता ।
३१- तीन महानगर पूर्वाधार विकासको अवधारणा तयार
३२- प्रदेश राजधानीको गुरुयोजना निर्माणको प्रकृया आरम्भ
३३- दुईवटा प्रादेशिक अस्पततालाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्न गुरुयोजना निर्माण 
३४- प्रदेश लोकसेवा आयोग गठन भइ कार्य आरम्भ भएको
३५- सुचना प्रविधि प्रतिष्ठान गठनभइ डिजिटल प्रदेश निर्माणको थालनी
३६- प्रदेश प्रशिक्षण प्रतिष्ठानका माध्यमवाट प्रदेश र स्थानिय तहमा जनशक्ति विकासको थालनी ।
३७- पूर्वाधार विकास प्राधिकरण गठन भइ ठुला विकासका आयोजना अघि वढाइएको 
३८- पालिकाहरुमा खेल पूर्वधारको विकास र वहुद्देश्यिय भवनको निर्माण
३९- विज्ञान शिक्षामा छात्राको सहभागितमा उल्लेख्य वृद्धि
४०- मुस्लिम, दलित र कमैया र कमलहरीका छोरीहरुका लागि उच्च शिक्षामा छात्रवृत्तिको व्यवस्था
४१- प्रदेशमा अवस्थित विश्वविद्यालय संग अनुसन्धानमुलक कार्यमा साझेदारीको थालनी ।
४२- मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका माध्यमवाट गरिवी निवारणमा महत्वपूर्ण योगदान
४३- राज्यका तीनवटै सुरक्षा निकायसंग कोभिड १९ महामारी र विपद प्रतिकार्यमा राम्रो सहकार्य र समन्वयको स्थापना
४४- जनता आवास कार्यक्रमको कार्यान्वयनमा महत्वपूर्ण उपलव्धि
४५- शहरी क्षेत्रमा सडक पेटि निर्माणमा तिव्रता र पर्यटकीय सम्भावना वोकेका क्षेत्रमा पूर्वाधारको विकास

प्रतिक्रिया दिनुहोस