• एउटै दृष्टि, भिन्न कोण
  • Search

सिजलको उम्मेदवारी निष्क्रिय बनाउछौं, प्रक्रिया सुरु भइसकेकोछ– वर्षमान

रोल्पा २०७९ असोज २९ गते शनिवार

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सत्तारुढ गठबन्धनका तर्फबाट रोल्पाको प्रतिनिधिसभाका उम्मेदवार वर्षमान पुनले गठबन्धनविरुद्ध बागी उम्मेदवार हालेका माओवादी नेता दिपेन्द्र कुमार पुन ‘सिजल’को उम्मेदवारी निष्क्रिय बनाउने बताएका छन्।

लोकतान्त्रिक–बाम गठबन्धन निर्वाचन परिचालन समिति रोल्पाले शनिवार लिबाङस्थित नेपाली काँग्रेसको पार्टी कार्यालय सुशिल कोइराला स्मृति भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै पुनले यस्तो बताएका हुन्।

‘म पार्टीको केन्द्रीय जिम्मेवारीमा व्यस्त थिए, उम्मेदवारी दर्ताको दिन वर्षाका कारण नेटवर्क समस्याले सिजल जीसँग राम्रोसँग कुरा हुन सकेन’ उनले भने, ‘आज विहान मात्रै हाम्रो भेटभयो अध्यक्ष कमरेड प्रचण्डसँग पनि सिजलजीको कुरा भएको छ। उहाँले म पार्टीमै बस्छु र पार्टीको निर्णय मान्छु भन्नु भएको छ।’

सिजलले लगभग मानिसकेको भएपनि नेता भनेको केहि जनता र कार्यकर्ताको साथमा हुने भएकाले उनीहरुको आक्रोसलाई बुझ्दै केहि दिनपछि सबैजना गठबनधनलाई नै सघाउन आउने पुनले बताएका छन्। ‘सम्भवत अबको दुई–चार दिनमै उहाँ हामीसँगै गठबन्धनलाई भोट माग्न हिड्नु हुन्छ,’ पुनले भने।

सिजलको उम्मेदवारी निष्क्रिय बनाउने प्रक्रिया सुरु भइसकेकाले यसमा धेरै शंका नगरी ढुक्क हुन समेत उनले आग्रह गरेका छन्। रोल्पा बाहेक माओवादी कमजोर भएका अन्य जिल्लामा पनि माओवादीले सिट पाएको भन्दै रोल्पामा एउटा सिट काँग्रेसलाई दिनु स्वभाविक भएको पनि नेता पुनको भनाइ छ

प्रतिक्रिया दिनुहोस