गंगादेव गाउँपालिका रोल्पाका अध्यक्ष हरि बहादुर पुन सवार गाडीमा आक्रमण र तोडफोडको प्रयास भएको छ । बिहिबार गंगादेब गाउँपालिका अध्यक्ष वडा नं. -५ मा जाँदै गर्दा अपरान्ह करिब ४ बजेतिर सरकारी गाडी रा १ झ १९१ नम्बरको स्कारपियोलाई वडा नं -२ चौताराडाडामा राेकेर आक्रमण गरिएको बताइएको छ ।
आक्रमण गरी गाडी तोडफोड, हातपात गरेको आरोपमा गंगादेव गाउपालिका रोल्पा वडा नं. -४ का वडा अध्यक्ष कृष्ण वली “बिपिन” पक्राउ परेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ। आक्रमणमा गाडीको अगाडिको सिसा चर्किएको र दायाँ साईडको लुकिङ ग्लास भाँचिएको छ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुखाओढारबाट प्रहरी सहायक निरीक्षक डोकलाल धितालको कमाण्डमा खटिएको टोलीले आरोपित वलीलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले बताएको छ । कृष्ण वलीलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय घर्तिगाउ पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आरोपित कृष्ण वली गंगादेव गाउपालिकाका प्रवक्ता समेत हुन, पूर्व माओवादी बिचारबाट राजनैतिक यात्रा सुरुगरेका वली स्थानिय निर्वाचन नजिकै नेपाली काग्रेस प्रवेश गरेका थिए ।
स्रोतका अनुसार गाउपालिकामा समपुरक योजना सिफारिसमा अध्यक्षले गत बर्ष झै यस वर्ष पनि मनोमानी गरेकोमा त्यसो नगरि वडा नं ४ लगायत अन्य वडाका पनि योजना समावेस गरि सिफारिस गर्न अनुरोध गरेका थिए । नेपाली काग्रेसबाट नै निर्वाचित गाउपालीका अध्यक्षले बारम्वार गाउपालिकामा हुने काममा बेवास्ता गरेपछि यो स्थिति पैदा भएको बताइएको छ ।