• एउटै दृष्टि, भिन्न कोण
  • Search

मध्यपुर युथले सुरु गर्‍यो ग्रासरुट फुटबल कार्यक्रम

भक्तपुर २०८० जेष्ठ २७ गते शनिवार

भक्तपुरको फुटबल क्लब मध्यपुर युथ एसोसिएसनले ग्रासरुट फुटबल कार्यक्रम सुरु गरेको छ । शनिबार मध्यपुर थिमीस्थित एसोसिएसनको कार्यालयमा मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले ग्रासरुट फुटबल कार्यक्रमको उद्घाटन गरे ।

अहिले ११० जना बालबालिकाले फुटबलको आधारभूत तालिम लिइरहेको एसोसिएसनका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान उपेन्द्रमान सिंहले जानकारी दिए ।

यो कार्यक्रम अन्तर्गत सुरुवातमा साप्ताहिक रूपमा आधारभूत फुटबल प्रशिक्षण दिने, लिग प्रतियोगिता सञ्चालन गर्ने र क्षमतावान् खेलाडीलाई एकेडेमीमै राखेर थप प्रशिक्षणको व्यवस्था मिलाइने उनले बताए ।

अहिले साप्ताहिक रूपमा हरेक शनिबार डेढ घण्टाका दरले फुटबल सिकाइने र अहिले ६ देखि १३ वर्षसम्मका ११० जना बालबालिका रहेको एशोसिएसनले जनाएको छ । उनीहरूलाई उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, राजेश मानन्धर, राकेश श्रेष्ठसहित थप १२ जना प्रशिक्षकले प्रशिक्षण दिने एसोसिएसनले जनाएको छ ।

कार्यक्रममा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लबका प्रशिक्षक बालगोपाल महर्जनलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस