सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा संयुक्त राजनीतिक संयन्त्र गठन गरेका छन्। प्रदेश सरकारलाई प्रभावकारी बनाउन र स्थानीय तहका विवादहरू समाधान गर्न गठित यस संयन्त्रले प्रदेशका प्रमुख दलहरूबीच सहकार्यलाई सुदृढ बनाउने उद्देश्य राखेको छ।
शनिबार बुटवलमा नेकपा एमालेबाट लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको अध्यक्षतामा बसेको बैठकले संयन्त्रलाई औपचारिक रूपमा पूर्णता दिएको हो। बैठकमा दुई दलका उच्च नेताहरूको उपस्थिति थियो। संयन्त्रको नेतृत्व दुवै दलले पालैपालो गर्ने सहमति गरेका छन्।
नेकपा एमालेबाट लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल संयोजक, मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल सदस्य रहेका छन्। नेपाली कांग्रेसबाट प्रदेश सभापती अमर सिंह पुन संयोजक, संसदिय दलका नेता डिल्ली चौधरी र कांग्रेसका प्रदेश सह-महामन्त्री बिष्णु प्रसाद खनाल मुस्कान सदस्य रहेको संयन्त्र निर्माण गरिएको हो ।
बैठकले मंसिर मसान्तसम्ममा लुम्बिनीका १२ वटै जिल्लामा जिल्ला स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ। यी संयन्त्रहरूले प्रदेश सरकारको कामकारवाहीलाई सघाउने र स्थानीय तहमा देखिएका विवादहरूको समाधानमा सहजीकरण गर्ने जिम्मेवारी पाउनेछन्।
पुस २० गते अमर सिंह पुनको अध्यक्षतामा अर्को बैठक बस्ने तय भएको छ। यस बैठकमा जिल्ला संयन्त्रका संयोजकहरूलाई समेत सहभागी गराइनेछ। एमाले र कांग्रेसले पालैपालो बैठकको अध्यक्षता गर्ने सहमति पनि गरेको छ।
यस संयन्त्रले प्रदेशको राजनीतिक वातावरणलाई स्थिर बनाउँदै स्थानीय विवादहरूलाई समाधानको मार्गमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।