सरकारले समपूरक अनुदानमा कार्यान्वयन हुने आयोजना तल्लो सरकारले प्रस्ताव गर्न सक्ने अधिकतम सीमा कटौती गरेको छ । राष्ट्रिय योजना आयोगले तयार गरेर अर्थ मन्त्रालयमार्फत क्याबिनेट पुगेको समपूरक अनुदानसम्बन्धी कार्यविधि, २०८१ लाई मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै समपुरक अनुदान पाउने व्यवस्था परिवर्तन भएको हो । यस अघि ‘संघीय सरकारले परियोजनाका लागि ५० प्रतिशत र स्थानीय वा प्रदेशले ५० प्रतिशत लगानी गर्ने व्यवस्थामा परिवर्तन भएको हो ।
सरकारले पुरानो कार्यविधि खारेज गरी ल्याइएको नयाँ कार्यविधिले अधिकतम लागतको सीमा घटाएको छ । समपूरक अनुदानका लागि गाउँपालिका,नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना,कार्यक्रमको कूल लागत १ करोडदेखि १० करोड रुपैयाँसम्म रहेकोमा कार्यविधि संशोधन गरी १ करोडदेखि ७ करोडको सीमा तोकिएको छ । अब कमजोर स्थानीय तहलाई संघीय सरकारले ८० प्रतिशत योगदान दिनेछ भने दोस्रो बलियो तहमा रहेका स्थानीय तहको हकमा संघले ३० प्रतिशत र स्थानीय तहले ७० प्रतिशत व्यहोर्नुपर्ने तोकिएको छ ।
अनुदानका लागि स्थानीय तहलाई सात तहमा बर्गीकरण गरेको आयोगले जनाएको छ । अब सरकारले आन्तरिक राजस्व संकलन, समृद्धिको अवस्था, उद्योग धन्दा एकाग्रता सहित राजस्व परिचालन सूचकांकका आधारमा स्थानीय तहको वर्गीकरण गरेको छ ।
रोल्पामा स्थानीय तहहरु समूह क र ख मा परेका छन । समुह क मा थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका,लुङ्ग्री गाउँपालिका, परिवर्तन गाउँपालिका परेका छन । समुह ख मा माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका, रुन्टीगढी गाउँपालिका, गंगादेव गाउँपालिका रहेका छन । रोल्पा जिल्लाको एकमात्र नगरपालिका रोल्पा नगरपालिका समुह घ मा परेको छ । अब समुह क मा परेका ४ ओटा गाउँपालिकाले २० प्रतिशत योगदान गर्नु पर्नेछ । समुह ख मा परेका ४ ओटा गाउँपालिकाले ३० प्रतिशत र घ मा परेको रोल्पा नगरपालिकाल् ५० प्रतिशत योगदान गर्नु पर्ने भएको छ ।
क्र.सं. | स्थानीय तहको नाम | समुह |
१ | थवाङ गाउँपालिका | क |
२ | सुनछहरी गाउँपालिका | क |
३ | लुङ्ग्री गाउँपालिका | क |
४ | परिवर्तन गाउँपालिका | क |
५ | माडी गाउँपालिका | ख |
६ | त्रिवेणी गाउँपालिका | ख |
७ | रुन्टीगढी गाउँपालिका | ख |
८ | गंगादेव गाउँपालिका | ख |
९ | रोल्पा नगरपालिका | घ |