रोल्पाको गंगादेव गाउँपालिका वडा नं ३, जहेलेका स्थायी बासिन्दा एवं समाजसेवी गंगाराम डाँगीले सामुदायिक स्वास्थ्य केन्द्र गमथलेको भवन निर्माणका लागि तीन रोपनी बराबरको जग्गा दान गरेका छन्।
नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रही, समाजसेवा गरि रहेका डाँगी काङ्ग्रेसका पूर्व जिल्ला सदस्य तथा संविधान सभाको उप निर्वाचनमा काङ्ग्रेसबाट उम्मेद्वार भएका डाँगी लामो समयदेखि समाजसेवामा समर्पित छन्। शिक्षा, स्वास्थ्य, तथा सामुदायिक विकासमा उल्लेखनीय योगदान पुर्याएका उनले स्वास्थ्य संस्थाको आवश्यकता महशुस गर्दै आफ्नो निजी जग्गा दान गरेका हुन्। उनले उक्त जग्गाको लालपुर्जा गंगादेव गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष लोकमान ओलीलाई हस्तान्तरण गरेका छन्।

वडा नं ३ गमथलेमा रहेको सामुदायिक स्वास्थ्य केन्द्र तथा वर्थिङ सेन्टरले गाउँघर क्लिनिकमार्फत सेवा प्रदान गर्दै आइरहेको छ। सरकारी भवन नहुँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको अवस्थामा समाजसेवी डाँगीले जग्गा दान गरेपछि स्थायी भवन निर्माण हुने भएको छ । गंगादेव गाउँपालिकाले उक्त स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि चालू आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। अब, जग्गा उपलब्ध भएसँगै निर्माण प्रक्रिया छिट्टै सुरु हुने गाउँपालिकाका सूचना अधिकारीले बताए ।
जिनावाङ स्वास्थ चौकिको समेत स्थापना गर्नमा ठुलो योगदान गरेको जानकार डाँगीले केवल स्वास्थ्य क्षेत्र मात्र होइन, शिक्षा क्षेत्रमा पनि अतुलनीय योगदान पुर्याएका छन्। रोल्पाको पश्चिम भेगमा रहेको श्री विरेन्द्र उच्च माध्यमिक विद्यालय गंगादेव, श्री गंगा मावि गंगादेव–२ चौतारा लगायत विभिन्न शैक्षिक संस्थाहरूको स्थापनादेखि विकाससम्म उनको महत्वपूर्ण भूमिका रहेको जानकारहरू बताउँछन्।
९३ वर्षको उमेरसम्म पनि निरन्तर समाजसेवामा सक्रिय रहेका डाँगीको यस योगदानको सर्वत्र प्रशंसा गरिएको छ। स्थानीयवासीहरूले उनको यो कार्यबाट प्रेरित हुँदै समुदायको विकासमा थप हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
स्थानीय सरकार, समाजसेवी, तथा समुदायको सहकार्यले गमथले स्वास्थ्य केन्द्रको भवन छिट्टै निर्माण सम्मपन्न भई गुणस्तरीय सेवा प्रवाह गर्न सकिने विश्वास गरिएको छ।