• एउटै दृष्टि, भिन्न कोण
  • Search

‘जान्नेलाई छान्ने’ भन्ने रास्वपा तुलसीपुर खानेपानीमा माओवादीमा विलय

दाङ २०८१ फाल्गुन २४ गते शनिवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तुलसीपुर खानेपानीको निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई समर्थन गरेको छ। “जान्नेलाई छान्ने” नारा दिएर स्वतन्त्र राजनीति गर्ने प्रतिबद्धता जनाउँदै आएको रास्वपाले यो कदम चालेपछि उसका धेरै समर्थकहरू निराश बनेका छन्।

रास्वपाले राजनीतिक स्थायित्व र परिवर्तनको आशा बोकेर आएका युवाहरूलाई आकर्षित गरिरहेको थियो। तर, चुनावमा गठबन्धन नगर्ने प्रतिबद्धता जनाउँदै आएको रास्वपाले माओवादीलाई साथ दिएपछि समर्थकहरु अन्योलमा परेका छन्। एक समर्थकले भने, हामीले रास्वपालाई नयाँ शक्ति ठानेर समर्थन गरेका थियौं। तर, अहिले माओवादीलाई साथ दिएको देख्दा आश्चर्य लागेको छ। यदि यो नै राजनीति गर्ने शैली हो भने, रास्वपा पनि पुरानै दलहरुसँग फरक छैन।”

समर्थकहरुको भनाइमा रास्वपाले सैद्धान्तिक अडान कायम गर्नुपर्ने र यदि साँच्चिकै नयाँ शक्ति हो भने कुनै दललाई समर्थन नगरी आफ्नै उम्मेदवार उठाउनुपर्ने थियो। नयाँ शक्ति भनिए पनि पुरानै प्रवृत्तिमा फसेको देख्दा रास्वपाप्रति विश्वास खस्किन थालेको छ ।

तर, रास्वपा लुम्बिनी प्रदेशका सदस्य भक्त डाँगीले भने अन्य प्रमुख दलहरूले रास्वपालाई बेवास्ता गरेकाले माओवादीलाई समर्थन गर्नुपरेको बताएका छन्। उनका अनुसार, “कांग्रेस र एमालेले हाम्रो साथ खोजेनन्, तर माओवादीले सम्मानपूर्वक सहयोग मागेपछि नैतिक रूपमा हामीले समर्थन गर्ने निर्णय गर्यौं।”

रास्वपाको यस निर्णयले उसका समर्थकहरूमा असन्तोष पैदा गरेको देखिन्छ। अब आगामी दिनमा पार्टीले कसरी आफ्नो मार्गचित्र तय गर्छ भन्ने चासो बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस