आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सल्यानमा सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा एमालेका विद्यार्थी संगठनहरूबीच चुनावी सहमति भएको छ। काँग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूको स्ववियु निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेका हुन्।
सहमति अनुसार सल्यानका सात क्याम्पसमध्ये चार क्याम्पसको नेतृत्व नेविसंघले लिनेछ भने तीन क्याम्पसको नेतृत्व अनेरास्ववियुका भागमा पर्नेछ। जनकल्याण क्याम्पस थारमारे, शिवजन क्याम्पस शितलपाटी, कपुरकोट बहुमुखी क्याम्पस, र फारुला बहुमुखी क्याम्पसको नेतृत्व नेविसंघले गर्नेछ। त्यस्तै, सल्यान बहुमुखी क्याम्पस खलंगा, शारदा क्याम्पस शंखमुल, र बनगाड क्याम्पसको नेतृत्व अनेरास्ववियुले गर्ने सहमति भएको छ।
आइतबार भएको औपचारिक सहमतिपत्रमा नेपाली काँग्रेसका जिल्ला सचिव प्रकाश भण्डारी र नेकपा एमालेका जिल्ला उपाध्यक्ष तथा जनसंगठन प्रमुख ओजबहादुर बुढाथोकीले हस्ताक्षर गरेका छन्। त्यसैगरी, नेविसंघका जिल्ला अध्यक्ष केशव डाँगी, अनेरास्ववियु कर्णाली प्रदेश कमिटी अध्यक्ष राजेश ओली, र जिल्ला अध्यक्ष विशाल पुनले पनि सहमतिमा हस्ताक्षर गरेका छन्।
