• एउटै दृष्टि, भिन्न कोण
  • Search

विद्यालय बन्द भइरहेपछि रुन्टीगढी गाउँपालिकाको कडाइ : उपस्थिति नभए तलब कटौती

रोल्पा २०८२ बैशाख १४ गते आइतवार

रोल्पाको रुन्टीगढी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरूलाई नियमित सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि सुरू भएको आन्दोलनका कारण विद्यालयमा पठनपाठन प्रभावित भएपछि गाउँपालिकाले यस्तो निर्देशन दिएको हो।

गाउँपालिकाले वैशाख १३ गते बसेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघ अध्यक्ष, क्रियाशील राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफलपछि वैशाख १४ गते कार्यपालिकामा निर्णय गर्दै वैशाख १६ गतेदेखि विद्यालय सञ्चालनमा ल्याउन सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई अनुरोध गरेको हो। साथै, वैशाख १ गतेदेखि विद्यालयमा उपस्थिति नदेखाउने शिक्षक तथा कर्मचारीहरूको तलबभत्ता कटौती गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तथा प्रधानाध्यापकको जिम्मेवारी समेत हेरफेर गर्ने चेतावनीसमेत दिइएको छ।

गाउँपालिका अध्यक्ष जनक पुनले हस्ताक्षरित सूचनामा विद्यालय प्रशासन र प्रधानाध्यापकलाई समेत विद्यालयको नियमित सञ्चालन सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गरिएको छ।

गाउँपालिकाले शिक्षा क्षेत्रको नियमितता र गुणस्तर सुधार गर्नका लागि तत्कालीन निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस