नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले मुलुकको अर्थतन्त्रलाई संकटबाट उकास्न कृषि, पर्यटन र सूचना प्रविधि (आइटी) क्षेत्रमा तत्काल लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ।

तुलसीपुर उद्योग वाणिज्य संघको ३० औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै राणाले हालको अर्थतन्त्र नेपालकै इतिहासमा सबैभन्दा कठिन अवस्थामा पुगेको बताउनुभयो। उहाँले सरकारबाट सबै क्षेत्रमा आधुनिकीकरणको चर्चा भइरहे पनि वास्तविक लगानी दिनानुदिन घट्दो क्रममा रहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो।
राणाले उच्च शिक्षा अध्ययनका लागि ठूलो संख्यामा नेपाली विद्यार्थी विदेशिने र त्यसपछि स्थायीरूपमा त्यहीँ बसोबास गर्दा मुलुकको अर्थतन्त्र थप कमजोर बन्दै गएको उल्लेख गर्नुभयो। उहाँले देशको आर्थिक समृद्धिका लागि व्यवसायीको एकता आवश्यक भएको भन्दै सबै क्षेत्र एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले वर्तमान बजेट प्रणालीमाथि आलोचना गर्दै साना योजनाभन्दा पनि दीर्घकालीन र ठूला योजनामा प्राथमिकता दिनु आवश्यक रहेको बताउनुभयो। लुम्बिनी क्षेत्रलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्न सडक, विमानस्थल लगायतका पूर्वाधारमा लगानी गर्नुपर्ने, उर्जा क्षेत्रमा लगानी बढाए मात्र दीगो विकास सम्भव हुने उहाँको भनाइ थियो।
महिलाको आर्थिक क्षेत्रमा भूमिका बढ्दै गएको उल्लेख गर्दै राणाले अब महिलाले पनि नीति निर्माण तहमा निर्णायक स्थान लिनु पर्ने आवश्यकता रहेको बताउनुभयो।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिपुल पोखरेल, दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष दुर्गालाल केसी लगायतले निजी क्षेत्रले राज्यलाई ठूलो सहयोग गर्दै आएको र यसको सुरक्षाको जिम्मेवारी पनि राज्यले लिनुपर्ने धारणा राख्नुभयो।
संघका अध्यक्ष बिनिल केसीको अध्यक्षता तथा पूर्व अध्यक्ष राणाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा महासचिव केशवराज केसीले प्रगतिपत्र र कोषाध्यक्ष रुपेश शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।